© 2026
दाङ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहँदा सुक्खापन बढेको थियो । हिउदमा जहिले पनि इनार, कुवा सुक्ने गरेका र खानेपानीको निकै समस्या हुने गरेको स्थानीय ७८ वर्षका भिमबहादुर चौधरीले बताए ।
गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको एक करोड रूपैयाँको लागत र स्थानीयको पहलमा २०७७ सालमा जलाशय बनेपछि स्थानीयको जीवनमा परिवर्तन आएको छ । झण्डै दुई विघामा क्षेत्रफलमा फैलिएको यस जलाशय क्षेत्रको गहिराइ ६ मिटर छ । यो जलाशय निर्माण भएपछि एक सय बिघा जमिनमा सिँचाइ पुगेको चौधरी बताउँछन् ।
उनले भने, “पहिले मानिस र गाईवस्तुलाई पेटभरी पानी खुवाउन नसक्ने गाउँलेले अहिले सहरका मानिसलाई पेटभरी तरकारी खुवाउन सक्ने भएका छौ ।” एक सय ५० घरका सबैले खेती गरेको भन्दै उनले आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर पनि बाह्रै महिना तरकारी खेती गरेर आम्दानी गर्ने गरेको बताए ।
घोराही उपमहानगरपालिका–१७ का किरण चौधरीको पेसा खेतीपाती हो । उनले आफ्नो एक बिघा र भाडाको ६ कठ्ठा जमिनमा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेको पाँच वर्ष भयो । पछिल्लो समय एक सिजनमा तरकारी बिक्री गरेर ९० हजार देखि एक लाख रूपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । पाँच वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलाशय विस्तार भएपछि मात्रै पानीको पहँुच पुग्यो र खेती सुरु भयो ।
व्यावसायिक खेतीले आम्दानी बढाएर रोजगारी मिलेको उनको भनाइ छ । पाँच जनाको परिवार छ सबैले तरकारी खेतीका समय दिने गरेकाले बाहिरका मानिस राख्न नपरेको उनको भनाइ छ । बार्षिक चार देखि पाँचलाख आम्दानी हुने गरेको उनले बताए ।
सोही ठाउँकी शिला चौधरी धनिया उखेल्दै गरेको अवस्थामा भेटिइन् । उनका खेतमा धनिया, काउली, बन्दा, काक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उनी तरकारी बारीमा भेटिने गरेकी छन् । १७ कठ्ठा जमिनमा खेती गरेको तरकारीले बार्षिक २ लाख भन्दा धेरै आम्दानी हुने गरको उनले बताइन् ।
पानीको सुविधा भएपछि गाउँँका सबैले व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ । तरकारी खेती गरेपछि घरमा खान पनि भएको छ, बिक्री गरेर आम्दानी पनि भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ । ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको चौधरी बताउँछिन् । स्थानीयलाई माछा पालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम अभियान घोराहीले गरेको छ ।
कर्जाही गाउँबाट दैनिक ४० हजार बराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिंचाई आयोजनाका अध्यक्ष प्रशु चौधरीले बताए । गाउँका २ सय ५० घर धुरीका एक सय बिघा जमिनमा सिंचाई पुगेको छ । उनले भने, “गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारी खेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । ” पानीले जीवन परिवर्तन गरिदिएको छ । गाउँका सबैजसोले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । आम्दानी वृद्धिसँगै पोषणमा समेत सुधार भएको चौधरीले बताए ।