Butwal Today

बालेनको ‘रेकी’ गरेर सूचना चुहाएको आरोपमा एआईजी निलम्बित,सापकोटा र दाहालको कनेक्सन

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाललाई सरकारले निलम्बन गरेपछि उनीमाथि संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपबारे थप विवरण सार्वजनिक भएको छ । स्रोतका अनुसार दाहालले प्रधानमन्त्री बालेन्द्र शाहको आवतजावत तथा गतिविधिसम्बन्धी सूचना बिचौलियामार्फत बाहिर पठाएको आरोपमा अनुसन्धान भइरहेको छ ।

सरकारले सोमबार दाहाललाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो । उनलाई तीन दिनभित्र छानबिन पूरा गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । दाहाललाई सुरुमा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको विषयमा निलम्बन गरिएको भनिए पनि अनुसन्धानका क्रममा अन्य विषयसमेत जोडिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जबरा पक्राउ परेको जानकारी पाएपछि दाहाल असोज ११ गते राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । त्यसबेला कार्यालयमा अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाइएको भए पनि दाहालले आफू सशस्त्र प्रहरीको एआईजी भएको परिचय दिएर भित्र प्रवेश गरेको बताइएको छ । दाहालले कार्यालयमा करिब १५ मिनेट जबरासँग कुराकानी गरेको र त्यसपछि बाहिरिएको स्रोतको दाबी छ । जबरासँग पारिवारिक सम्बन्धसमेत रहेका दाहाल सरकारले नियन्त्रणमा लिएको व्यक्तिलाई भेट्न पुगेपछि अनुसन्धानमा संलग्न अधिकारीहरूले उनको भ्रमणलाई शंकास्पद रूपमा हेरेको बताइएको छ । त्यसपछि अनुसन्धानका क्रममा बिचौलियाका रूपमा चर्चा गरिएका इनाम सापकोटा र दाहालबीच म्यासेन्जरमार्फत कुराकानी भएको तथ्य फेला परेको स्रोतले जनाएको छ । सापकोटा र जबराबीच पनि नियमित सम्पर्क रहेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ ।

स्रोतका अनुसार सापकोटाको मोबाइलबाट दाहालसँग भएको कुराकानीसमेत फेला परेको थियो । यही सम्पर्क र संवेदनशील सूचनाको आदानप्रदानलाई आधार बनाएर दाहालमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ । अनुसन्धान स्रोतका अनुसार दाहालले प्रधानमन्त्री बालेन्द्र शाह सिंहदरबार प्रवेश गरेको र बाहिरिएको समयसम्बन्धी ‘इन–आउट’ सूचना सापकोटालाई फेसबुक म्यासेन्जरमार्फत पठाएको आरोप छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विभिन्न समूहसँग सम्बन्धित भनिएका सांसदहरूको सूचीसमेत सापकोटालाई पठाएको दाबी स्रोतको छ ।

सापकोटा र जबराबीचको निकट सम्बन्ध तथा सापकोटा र दाहालबीच संवेदनशील सूचना आदानप्रदान भएको भनिएको तथ्यका आधारमा सरकारले दाहालमाथि विस्तृत छानबिन आवश्यक ठानेको स्रोतको दाबी छ । यसै प्रकरणमा सापकोटालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार सापकोटालाई म्याद थप गरी हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?