© 2026
गुल्मी । सरकारी सेवामा रहेर पनि फुर्सदको समयलाई कृषि कर्ममा लगाउँदै गुल्मीको सत्यवती गाउँपालिका–४ का कृषक फत्तमान थापाले व्यावसायिक फलफूल खेतीबाट नयाँ सम्भावना देखाएका छन् । पेशाले सब–इन्जिनियर थापा सरकारी सेवासँगै आफ्नै पाखोबारीमा व्यावसायिक रूपमा फलफूल खेती गर्दै आएका व्यावसायिक कृषक हुन् ।
सुरुआती चरणमा करिब रु १० लाख लगानी गरेर फलफूल खेती सुरु गरेका थापाले अहिले ५० भन्दा बढी प्रजातिका फलफूल तथा बहुमूल्य वनस्पति लगाएर आफ्नो बगैँचालाई हराभरा बनाएका छन् । उनको बगैँचा अहिले व्यावसायिक कृषक तथा कृषि विषयका विद्यार्थीका लागि अध्ययन र सिकाइको केन्द्र समेत बनेको छ ।
सत्यवती गाउँपालिका–४ का स्थायी बासिन्दा थापा सरकारी सेवामा रहेर पनि फुर्सदको समयलाई निरन्तर कृषि कर्ममा लगाउँदै आएका छन् । उनको फलफूल खेती गाउँमा कृषि सम्भावना खोज्नेहरूका लागि उदाहरण समेत बनेको छ । वि.सं २०५८ मा तत्कालीन जिल्ला विकास समितिबाट सरकारी सेवामा लागेका थापा हाल सत्यवती गाउँपालिकामा सब–इन्जिनियर पदमा कार्यरत छन् । इन्जिनियरिङ सेवाका क्रममा गाउँगाउँ पुग्दा देखेको कृषि सम्भावनालाई आफ्नै गाउँमा प्रयोग गर्ने सोचले फलफूल खेती सुरु गरेको उनी बताउँछन् ।
“गाउँमा केही पनि फल्दैन” भन्ने परम्परागत सोचलाई चुनौती दिँदै थापाले आफ्नो बगैँचालाई व्यावसायिक रूपमा अघि बढाउन थालेका छन् । उनको बगैँचामा प्रतिगोटा ४०० रूपौयाँदेखि ५०० रूपैयाँसम्म मूल्य पर्ने ड्रागन फ्रुटका बिरुवा छन् । चार रोपनी क्षेत्रफलमा ७०० वटा केरा लगाइएको छ भने १०० भन्दा बढी एभोकाडोका बोटहरू रहेका छन् ।
त्यतिमात्र नभई बगैँचामा ठूलो तथा सानो गरी करिब ४४० वटा ओखरका बोट सहित आँप, सुन्तला, लिची लगायत विभिन्न
प्रजातिका फलफूल उत्पादन भइरहेका छन् । फलफूल खेतीमा थापाको परिवारले समेत सहयोग गर्दै आएको छ । फलफूल खेतीसँगै मसला बाली, मौरीपालन र पशुपालनलाई समेत जोडेर थापाले एकीकृत कृषि प्रणाली अवलम्बन गरेका छन् ।
सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार गाउँपालिकाले व्यावसायिक कृषकका लागि उत्पादनमा आधारित अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसबाट कृषकलाई कृषि व्यवसाय विस्तारमा सहयोग पुगेको अध्यक्ष पाण्डेले बताए । गाउँपालिकाले स्थानीय भूगोल र हावापानी अनुसार विभिन्न प्रजातिका फलफूल तथा कृषि बाली विस्तारमा जोड दिएको छ ।
जस अन्तर्गत उच्च भूभागमा किवी, स्याउ, टिमुर, नासपाती, हलुवाबेद, ओखर, सुन्तला, अलैँची र कागतीका बिरुवा लगाइएको छ भने तल्लो तथा समथर भूभागमा आँप र लिचीजस्ता फलफूल खेती विस्तार गरिएको अध्यक्ष पाण्डेले बताए ।
सत्यवतीको लुम्पेक क्षेत्रमा चिया तथा कफी खेती समेत विस्तार गरिएको छ । कृषि पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पछिल्लो समय किवी, चिया, कफी तथा सुन्तला उत्पादनमा विशेष जोड दिँदै आएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिएकी छन् ।
सत्यवती गाउँपालिकाका कृषि अधिकृत सन्ध्या ज्ञवालीका अनुसार पालिका भित्र व्यक्तिगत, समूह, सहकारी तथा सार्वजनिक जग्गामा गरी ८३ हजार भन्दा बढी फलफूल तथा मसला बालीका बिरुवा लगाइएको छ । गाउँपालिकाले पछिल्लो समय कृषि उत्पादन बढाउने, किसानलाई व्यावसायिक बनाउने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने योजनालाई मुख्य प्राथमिकता दिँदै आएको उनले बताइन् ।
सरकारी सेवा र कृषि कर्मलाई सँगसँगै अघि बढाएका थापाको प्रयासले स्थानीयस्तरमै रोजगारी र आम्दानीको सम्भावना सिर्जना गर्नुका साथै फलफूल खेतीबाट व्यावसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।थापा जस्तै जिल्लाका अन्य किसान पनि पछिल्लो समय व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानमा किसानले स्थानीय हावापानी र भूगोल अनुसार सुन्तला, कागती, आँप, लिची, किवी, एभोकाडो, ओखर लगायतका फलफूल खेती विस्तार गरिरहेका छन् ।
फलफूल खेतीलाई प्रवद्र्धन गर्न स्थानीय तहसँगै कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत समेत किसानलाई अनुदान, बिरुवा वितरण, मल तथा कृषि सामग्री लगायतमा सहयोग उपलब्ध हुन थालेपछि व्यावसायिक खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।
सरकारी निकायबाट प्राप्त प्राविधिक तथा आर्थिक सहयोगले किसानलाई नयाँ प्रजातिका फलफूल खेती विस्तार गर्न थप प्रोत्साहन मिलेको छ । उक्त सहयोगले परम्परागत कृषिलाई व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्न समेत थप टेवा पुग्ने बताइएको छ ।