© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।
उम्मेदवारका आकांक्षीलाई मनोनयन फारम वितरण तथा भर्ने काम भइरहेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी बिहान १० बजेदेखि फारम वितरण गरिरहेको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि नै उम्मेदवारका आकांक्षीलाई मनोनयन फारम वितरण भइरहेको हो ।
यसपटक ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् । महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ ।
उम्मेदवारी दिन चाहनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई तोकिएको रकम बुझाएपछि मनोनयन फारम लिने व्यवस्था गरिएको छ । उम्मेदवारी दर्ताका लागि आज अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन् । उपसभापतिको संख्या चार पुगेको छ भने महामन्त्रीको संख्या तीन पुर्याइएको छ। त्यसमध्ये एक जना महिला महामन्त्री अनिवार्य गरिएको छ ।
त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएका छन्। यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । विधानमा प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या थप गर्न सकिने कांग्रेसले जनाएको छ ।
यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो ।
कांग्रेसका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमिति तथा पदाधिकारीको आकार पनि विस्तार गरिएको हो ।