Butwal Today

कांग्रेसमा २० पदाधिकारीका लागि ५२ जनाको दाबी

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

असोज । नेपाली कांग्रेसले पदाधिकारीको संख्या २५ पुर्‍याएसँगै दाबेदारको संख्या पनि बढेको छ। आइतबारदेखि काठमाडौँको खुल्लामञ्चमा जारी १५ औँ महाधिवेशनबाट कांग्रेसले विधान संशोधन गरेर एक वरिष्ठ उपसभापति, दुई उपसभापति, एक महामन्त्री र ४ सहमहामन्त्रीको संख्या थपेको हो। सभापतिमा गगन थापालाई निर्विरोध दोहोर्‍याउने प्रयास भइरहेको छ। यद्यपि पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

वरिष्ठ उपसभापतिमा उपसभापति विश्वप्रकाश शर्मा निर्विरोध हुने सम्भावना छ। अहिलेसम्म वरिष्ठ उपसभापतिमा कसैले पनि उम्मेदवारी घोषणा समेत गरेका छैनन्। वरिष्ठ उपसभापति पद तपाईंकै लागि सिर्जना गरिएको हो भन्ने प्रश्नमा शर्माले ठोस जवाफ दिएनन्। ‘त्यस्तो होइन। म वरिष्ठ उपसभापतिमा उम्मेदवार नहुने कुरा तय गरिसकेको छैन। पार्टीमा मभन्दा थुप्रै साथीहरू वरिष्ठ हुनुहुन्छ। अरु साथीहरूले पनि त्यसमा इच्छा गर्नुहोला,’ उनले भने, ‘तर, विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा उपसभापति थिएँ। १५ औँ महाधिवेशनबाट बन्ने कार्यसमितिमा पनि एउटा जिम्मेवारी भूमिकामा मेरो उपस्थिति रहन्छ।’

चार जना उपसभापतिमध्ये महिलातर्फ अहिलेसम्म पुष्पा भुसालको मात्र दाबी देखिएको छ। तर, उपसभापतिको खुलातर्फका दुई वटा पदमा भने पूर्वसहमहामन्त्रीद्वय नेताहरू चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, दिपक गिरी र गोविन्द भट्टराईको दाबी छ। यस्तै समावेशीतर्फ धनराज गुरुङ, जीवन परियार, भीष्मराज आङ्देम्बे र विनोद चौधरीले आकांक्षा देखाएका छन्। यसरी चार उपसभापतिमा ९ जना आकांक्षी देखिएका छन्। नेता मिनेन्द्र रिजालले भने उम्मेदवारीबारे अहिलेसम्म कुनै टुंगोमा पुगिनसकेको बताए।

कांग्रेस महामन्त्रीका लागि उम्मेदवार घोषणा गर्ने नेताहरूको भने ताँती देखिन्छ। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको दोहोरिने चाहना देखिन्छ। औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेका उनीहरूले विशेष महाधिवेशनबाट नेतृत्व सम्हालेको ९ महिना मात्र भएको भन्दै पुन सोही पदमा दोहोरिन चाहेको बताउँदै आएका छन्। पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने बताए। यस्तै नेता नैनसिंह महर, मधु आचार्य, देवराज चालिसे, अमरसिंह पुन, सुनिल शर्मा, रंजित कर्ण, आङगेलु शेर्पा, सन्तोष उपाध्याय, शंकर तिवारीले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। सहमहामन्त्री उदय शम्शेर राणाले पनि महामन्त्रीमा आंकाक्षा राखेका छन्। यद्यपि उनले औपचारिक घोषणा भने गरेका छ्रैन।

कांग्रेस महाधिवेशनस्थलको दृश्य हेर्दा महामन्त्रीमा मुख्य प्रतिस्पर्धा प्रदीप, नैनसिंह र सुनिलको उपस्थिति बलियो देखिन्छ। सोमबार महाधिवेशनमा बन्दसत्र चलिरहँदा नैनसिंह र सुनिल महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त देखिन्थे। खुलातर्फका दुई महामन्त्रीमा १२ जनाको दाबी देखिँदा महिलातर्फ भने पूर्वसहमहामन्त्री डिना उपाध्याय र सहमहामन्त्री डिला संग्रौला पन्तबीच प्रतिस्पर्धा हुने देखिन्छ। महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरी महिला महामन्त्री पद सिर्जना गरिएपछि डिना र डिलाले उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेसमा १५ सहमहामन्त्रीको व्यवस्था गरिएको छ। जसमा ११ जना निर्वाचनबाट आउने छन् भने सभापतिले चार जना मनोनीत गर्ने विधानको नयाँ व्यवस्था छ। खुलातर्फ २, खसआर्य, महिला, आदिवासी जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकमा एक–एक गरी ११ जना निर्वाचित हुने व्यवस्था छ। अधिकांश सहमहामन्त्रीहरू नै दोहोरिने तयारीमा छन्। योगेन्द्र चौधरी, फरमल्लाह मंसुर, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादवको दाबी सहमहामन्त्रीमै छ।

खुला–खसआर्यतर्फ रामहरि खतिवडा, राजीव ढुंगाना, अजयबाबु सिवाकोटी, विकास कोइराला, भरत खड्का, महिलातर्फ प्रतिमा गौतम, ईश्वरी न्यौपाने, सीता गुरुङ, रिता खनाल, थारुतर्फ योगेन्द्र चौधरी, तेजुलाल चौधरी, मुस्लिमतर्फ अब्दुल सत्तार, पिछडिएको क्षेत्रमा जीवन शाही, मिन भाम, जनकराज गिरी, रामबहादुर विष्ट, मधेसीतर्फ महेन्द्र यादव, अभिषेकप्रताप शाह, मनिष मिश्र, आदिवासीतर्फ अमबहादुर घर्तीमगर, बर्मा लामा, अल्पसंख्यकतर्फ प्रदीप सुनुवार, योगेन्द्र गौचन थकाली गरी २८ जनाको दाबी छ। सोमबार मात्र विधान संशोधन भएर पद थपिएकाले दाबेदारको संख्या बढ्न सक्ने देखिन्छ। नयाँ विधानमा प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। एक जना कोषाध्यक्ष, एक महिलासहित चार सहमहामन्त्री, प्रवक्ता र सह प्रवक्ता सभापतिले मनोनयन गर्ने व्यवस्था छ।

केन्द्रीय सदस्यको संख्या पनि थपियो

संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ। केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहनेछन्। महिला खुलामा १५ जना हुनेछन्। हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन्। साथै, उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ। यस्तै, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन्। जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन्, भने खस आर्यबाट ८ महिलासहित १८ जना हुनेछन्। मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन्। यस्तै, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन्। पिछडिएको वर्गबाट ३ जना हुनेछन्। थारूबाट २ महिलासहित ६ जना रहेका छन्। श्रमिकबाट १ महिलासहित ३ जना, पेसागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन्। साथै, सातै प्रदेशबाट २१ जना ३५ वर्षमुनिका युवा रहनेछन्। यस्तै, अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन्। केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्नेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।

कांग्रेस महाधिवेशनको बन्दसत्र राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनभन्दा पदाधिकारीको संख्या बढाउने विषयमा बहस केन्द्रित देखिन्थ्यो। ७५ सय महाधिवेशन प्रतिनिधिमा अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यको दौडमा देखिन्छन्।उम्मेदवारी दर्ता गरेरै उनीहरू मत माग्न बन्दसत्रमै व्यस्त देखिन्थे। पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरू थपिने पदमा आफ्नो अनुकुलताको हिसाबकिताब गरिरहेका थिए। पदाधिकारी थपेर समावेशी बनाइएकोमा असन्तोष नदेखिए पनि केन्द्रीय समितिको आकार ठूलो बनाएकोमा भने नेता कार्यकर्ता बेखुस सुनिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?