© 2026
भैरहवा । तिलोत्तमा नगरपालिका–१० दरखस्वाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा बन्धक बनाएको घटनामा पक्राउ परेका २७ वर्षीय विशाल भन्ने युवराज थारुको विगतको आपराधिक पृष्ठभूमिसमेत खोतल्दै रूपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अभियुक्त विगतमा चोरी, अभद्र व्यवहारलगायतका घटनामा संलग्न रहेको तथ्य भेटिएपछि प्रहरीले उनको आपराधिक गतिविधिको विस्तृत विवरण संकलन गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका अभियुक्त यसअघि पनि आपराधिक गतिविधिमा जोडिएका व्यक्ति हुन् । उनी २०८० सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परी कानुनी कारबाही भोगिसकेको प्रहरीले जनाएको छ । त्यसबाहेक विभिन्न समयमा मोटरसाइकल चोरी, मोबाइल चोरीलगायतका घटनामा समेत उनको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अहिलेको घटनालाई अभियुक्तको विगतको गतिविधिसँग जोडेर अनुसन्धान गरिरहेको छ । विशेषगरी महिला तथा बालबालिकाप्रति उनको व्यवहार, विगतमा त्यस्ता व्यक्तिविरुद्ध भएका उजुरी तथा घटनाहरू र अहिलेको अपहरण प्रकरणबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको डिएसपी चन्दले बताए ।
प्रहरीका अनुसार अभियुक्तको व्यवहार र गतिविधिका कारण स्थानीय बासिन्दासमेत त्रसित हुने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । महिला तथा बालबालिकाप्रति असामान्य व्यवहार गर्ने र उनीहरूलाई दुःख दिने गरेको भन्ने स्थानीय तहका सूचनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
यद्यपि विगतका घटनामा उनीमाथि के–कस्ता आरोप प्रमाणित भएका थिए र अहिलेको घटनासँग त्यसको प्रत्यक्ष सम्बन्ध छ वा छैन भन्ने विषय अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।
“अभियुक्तको विगतको आपराधिक पृष्ठभूमि पनि हेर्दैछौँ । चोरी, अभद्र व्यवहारलगायतका घटनामा उनी यसअघि जोडिएको देखिन्छ । महिला तथा बालबालिकासँग सम्बन्धित कुनै अन्य घटना वा गतिविधि भएको थियो कि थिएन भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ,” डिएसपी चन्दले भने ।
गत १४ गते राति घरमै सुतिरहेकी १० वर्षीया बालिकालाई अपहरण गरी तिलोत्तमा–१० स्थित चक्रवाहा जंगलमा लगेर बन्धक बनाइएको प्रहरीले जनाएको छ । घटना सार्वजनिक भएपछि प्रहरीले बालिकाको खोजी तीव्र बनाएको थियो ।
प्रहरी टोलीले १६ गते साँझ करिब ५ः३० बजे बालिकालाई जंगलबाट सकुशल उद्धार गरेको थियो । बालिकाको उद्धारपछि पनि प्रहरीले अभियुक्तको खोजीका लागि जंगल क्षेत्रमा सर्च एन्ड स्विप अपरेसन जारी राखेको थियो ।
प्रहरीका अनुसार १७ गते जंगलबाट बाहिरिएर भाग्न खोजिरहेका अभियुक्तलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले उनको खुट्टामा गोली प्रहार गरेको थियो ।
गोली लागेर घाइते भएका अभियुक्तको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बालिकालाई जंगलमा बन्धक बनाएर राखिएको अवधिमा उनीमाथि शारीरिक वा यौनजन्य उत्पीडन भएको थियो कि थिएन भन्ने विषयलाई प्रहरीले अनुसन्धानको महत्वपूर्ण पाटो बनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण भइरहेको र त्यसको रिपोर्ट अनुसन्धानका लागि महत्वपूर्ण हुने प्रहरीले जनाएको छ । घटनाको प्रकृति, बालिकाले दिएको प्रारम्भिक जानकारी, चिकित्सकीय परीक्षणको प्रतिवेदन तथा अन्य प्रमाणलाई आधार बनाएर अभियुक्तविरुद्ध थप कानुनी कारबाही अघि बढाइने डिएसपी चन्दले बताए ।
“बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा घटनाको वास्तविकता स्पष्ट हुन्छ । त्यसपछि कानुनअनुसार थप प्रक्रिया अघि बढाउँछौँ,” उनले भने ।
प्रहरीले घटनास्थल, जंगल क्षेत्र, अभियुक्तको विगतको गतिविधि र बालिकालाई बन्धक बनाइएको अवधिबारे छुट्टाछुट्टै कोणबाट प्रमाण संकलन गरिरहेको छ । अभियुक्तको मोबाइल सम्पर्क, आवतजावत तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा आउन सक्ने प्रहरी स्रोतले जनाएको छ ।
बालिका अपहरण घटनासँगै रूपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई समेत थप कडा बनाएको छ । सीमावर्ती जिल्ला भएकाले चाडपर्वका समयमा चोरी, तस्करी, अपहरण तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले निगरानी बढाएको हो ।
डिएसपी चन्दका अनुसार जिल्लाका प्रमुख नाका ककरहवा र बेलहियाबाहेक अन्य १५ वटा खुला सीमानाकामा समेत प्रहरीको विशेष निगरानी छ । त्यस्ता क्षेत्रमा इन्टेलिजेन्स परिचालन, आकस्मिक जाँच, रेड तथा स्विप अपरेसनलाई तीव्र पारिएको छ ।
विशेषगरी विगतमा आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरूको गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ । संदिग्ध गतिविधि देखिए तत्काल नियन्त्रणमा लिने र आवश्यक अनुसन्धान अघि बढाउने रणनीति प्रहरीले अपनाएको छ ।