Butwal Today

पितृ स्मृतिमा ६० बटुकलाई भोजन

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । सोह्र श्राद्धको अवसर पारेर इनरह्वील क्लब अफ मिडटाउन बुटवलले बुटवल–७ स्थित नीलकण्ठ बाबा धामबाट सञ्चालित श्री सन्तोषी माता गुरुकुल विद्याश्रमका ६० जना बटुकलाई भोजन गराएको छ ।

पितृहरूको पुण्य स्मृति तथा आत्माको शान्तिको कामना गर्दै आयोजित कार्यक्रममा पूजा, तर्पण तथा धार्मिक अनुष्ठानसमेत गरिएको थियो । क्लबले सामाजिक तथा धार्मिक सेवाका कार्यक्रमअन्तर्गत आश्रममा रहेका बटुकलाई भोजन गराएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका पास्ट डिस्ट्रिक्ट चेयरम्यान आशा श्रेष्ठले क्लबले यसअघि पनि नीलकण्ठ बाबा धाममा आएर बटुक तथा आश्रमलाई सहयोग गर्दै आएको बताइन् । उनले सेवा गर्ने उद्देश्यले स्थापना भएको क्लबले धार्मिक तथा सामाजिक क्षेत्रमा गर्दै आएका सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा समाजसेवी बालकृष्ण पोखरेलले आफ्ना पिता अनन्तराम पोखरेलको पुण्यतिथिको अवसर पारेर बटुकलाई भोजन गराउन पाउँदा खुसी लागेको बताए । उनले पितृहरूको सम्मान र स्मरण गर्नु नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संस्कार र परम्पराबारे जानकारी गराउन सहयोग पुग्ने बताए ।

श्री सन्तोषी माता गुरुकुल विद्याश्रमका सचिव डण्डपानी पाण्डेले जन्मदिन तथा अन्य अवसरमा गरिने खर्चलाई यस्ता धार्मिक तथा सामाजिक संस्थामा सहयोगका रूपमा प्रयोग गर्न सके आश्रम सञ्चालनमा सहयोग पुग्ने बताए । उनले आश्रमलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रम गर्न आग्रह गरे ।

आश्रमका सल्लाहकार चुरामणि पौडेलले पितृहरूको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा यस्ता कार्यक्रमले योगदान पु¥याउने बताए ।

कार्यक्रमकी अध्यक्ष सुशीला पोखरेलले आफू क्लबको अध्यक्ष भएदेखि दुःखी, गरिब, असहाय, अशक्त तथा आश्रममा रहेका व्यक्तिलाई सहयोग गर्दै आएको बताइन् । उनले पितृहरूको पुण्य स्मृतिमा आयोजित कार्यक्रमले धार्मिक संस्कार र सामाजिक सेवाको भावनालाई समेत जोड्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, बोर्ड सदस्य तथा आश्रमका बटुकहरूको सहभागिता थियो । कार्यक्रममा क्लवका उपाध्यक्ष गीता खनाल, सचिव सुधा न्यौपानेले पनि आ–आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?