© 2026
काठमाडौं ।
बुटवल टुडे मिडिया ग्रुपका प्रवन्ध संचालक नवराज कुँवर अन्तर्राष्ट्रिय सूचना प्रविधि संस्था ‘असोसियो’को उपाध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन्।
इन्डोनेसियाको जकार्तामा सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनले कुँवरलाई सन् २०२७–२०२८ कार्यकालका लागि सर्वसम्मत उपाध्यक्षमा निर्वाचित गरेको हो। कम्प्युटर एसोसिएसन नेपाल महासंघका पूर्व अध्यक्ष कुँवर यसअघि उहाँले सन् २०२२–२०२४ र २०२५–२०२६ कार्यकालमा पनि असोसियोको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले यस उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय सूचना प्रविधिको मूलधारमा स्थापित गर्ने अभियानलाई थप ऊर्जा मिलेको बताएका छन्। उनले एसियाली मुलुकबीच प्रविधिको सञ्जाल विस्तार गर्दै नेपाललाई विश्व आईसीटी बजारमा महत्वपूर्ण हिस्सेदार बनाउने, प्रविधिमा लगानी र अन्तर्राष्ट्रिय सहकार्य बढाउने तथा डिजिटल खाडल घटाउन योगदान गर्ने प्रतिबद्धता जनाए।
कुँवरले भने, “सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु, असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ । साथै, यसले एसियाका विकासशील र अविकसित देशहरूबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु ।”
क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले कुँवरको नेतृत्वमा विश्वसामु नेपाली सूचना प्रविधि क्षेत्र र संस्थाहरूलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलिएकाले नै सर्वसम्मत निर्वाचित हुने वातावरण सिर्जना भएको बताए । उनले आगामी कार्यकालमा पनि उहाँबाट उल्लेख्य योगदान पुग्ने र नेपालले त्यसबाट लाभ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बधाई दिए ।
असोसियोको नयाँ कार्यसमितिमा नेपालसहित मलेसिया, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, सिंगापुरलगायत देशका आईसीटी संस्थाका प्रतिनिधि निर्वाचित भएका छन्।