© 2026
बुटवल । अखिल नेपाल महिला संघगठनको रूपन्देही जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले कुमारी घर्तीको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
कमिटीको सह–संयोजकमा मालती अधिकारी चयन भएकी छन् । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ प्रदेश इन्चार्ज राजेन्द्रलक्ष्मी गैरैले निर्वाचन नजिकिँदै गएको अवस्थामा महिला दिदीबहिनीहरू उम्मेदवार बन्ने दाबीसहित तयार हुनुपर्ने बताइन् । उनले महिलाहरूलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन् ।
उनले वर्तमान सरकार जनताको मतबाट राज्यसत्ता सञ्चालन गर्ने अवस्थामा पुगे पनि त्यही वर्गमाथि नै दुःख दिने काम भइरहेको आरोप लगाइन् । उनले सुकुम्बासीमाथि डोजर चलाउने, युवाहरूलाई आगो लगाएर ज्यान गुमाउन बाध्य बनाउनेलगायतका गतिविधि भइरहेको दाबी गर्दै सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरिन ।
अहिलेका युवाले पुराना राजनीतिक शक्तिबाट मात्रै परिवर्तन सम्भव नहुने बुझिसकेको दाबी गर्दै नयाँ शक्तिबाट पनि अपेक्षित परिणाम नआउन सक्ने अवस्था देखिएको बताइन् । प्रधानमन्त्रीले संविधान मिच्ने गरी संसद्मा आफ्नो प्रस्तुति देखाइसकेको आरोप लगाउँदै सबै राजनीतिक शक्ति एकताबद्ध भएर संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिइन् ।
त्यस्तै, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक पुनम श्रीपालीले महिलाको संख्या जम्मा गर्दैमा मात्र संगठन बलियो नबन्ने बताइन्। संगठनका सदस्यहरूले विचार र सिद्धान्त ग्रहण गरी वैचारिक रूपमा संगठनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।
श्रीपालीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलामाथि हुने हिंसाका विरुद्ध सशक्त र बुलन्द आवाज उठाउन सक्ने संगठन निर्माण गर्नुपर्नेमा जोड दिइन्। महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई संगठनको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
भेलामा नेकपा केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज निर्मल जिसीले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राख्दै बालेन नेतृत्वको सरकार बनेपछि देशको शक्ति सन्तुलनमा समेत खलबल पुगेको आरोप लगाए । उनले अमेरिकी साम्राज्यवादलाई नेपालमा प्रत्यक्ष प्रवेश गराउने काम भइरहेको दाबी गर्दै अमेरिकाले सेना र सेनाले बालेनलाई चलाउने अवस्था बनेको आरोपसमेत लगाए ।
भेलाले नयाँ जिल्ला कमिटी गठनसँगै रूपन्देहीमा महिला संगठनलाई थप व्यवस्थित, वैचारिक र राजनीतिक रूपमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।