© 2026
काठमाडौं । सेफर्ड कलेज काठमाडौँले पूर्वाञ्चल विश्वविद्यालयको मास्टर्स इन मिडिया टेक्नोलोजी कार्यक्रमअन्तर्गत विभिन्न पाँच विषयका विश्वविद्यालय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक गरेको छ ।
कलेजमा आयोजित कार्यक्रममा मुद्रण तथा सञ्चार माध्यमसम्बन्धी चार र मिडिया अनुसन्धानसम्बन्धी एक गरी पाँच वटा पाठ्यपुस्तक सार्वजनिक गरिएको हो । सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मिडिया टेक्नोलोजी विषयमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुने एक मात्र कलेजका रूपमा रहेको सेफर्डले यसअघि पनि विश्वविद्यालयको पाठ्यक्रममा आधारित दुई वटा पुस्तक प्रकाशन गरिसकेको जानकारी दिए ।
उनका अनुसार विद्यार्थीलाई पाठ्यक्रमअनुसारका गुणस्तरीय अध्ययन सामग्री समयमै उपलब्ध गराउने उद्देश्यले बाँकी विषयका पुस्तकसमेत तयार पार्ने काम भइरहेको छ । उनले स्नातकोत्तर तहको पहिलो र दोस्रो सेमेस्टरका बाँकी विषयका पाठ्यपुस्तक निर्माणको क्रममा रहेको बताए ।
पुस्तकका लेखक विनोदप्रसाद शर्मा (धौलागिरि), अर्जुनप्रसाद दहाल र प्रमोद शर्मा रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडाले विश्वविद्यालयको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माणले विद्यार्थीलाई अध्ययनका लागि विभिन्न स्रोतमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्ने बताए । उनले पाठ्यक्रम अनुकूल अध्ययन सामग्रीको उपलब्धताले शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुग्ने धारणा राखे ।
सोही अवसरमा कलेजले तयार गरेको ‘सहभागितामूलक सिकाइ मार्गदर्शन’ समेत सार्वजनिक गरिएको थियो । मार्गदर्शनमा अनलाइन कक्षालाई सहभागितामूलक बनाउने उपाय, नियमित मूल्याङ्कन प्रक्रिया, सिकाइ कार्यमा विद्यार्थीको भूमिका तथा निरन्तर मूल्याङ्कन पद्धतिलगायत विषय समेटिएका छन् ।
कार्यक्रममा स्नातकोत्तर तह पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा लेखकसमेत रहेका विनोदप्रसाद शर्माले सहभागितामूलक सिकाइ पद्धति तथा स्नातकोत्तर तहको अध्ययनका विभिन्न आयामबारे अभिमुखीकरण गरे ।
प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका कलेजका स्नातकोत्तर तह पहिलो सेमेस्टरका विद्यार्थी गणेश बस्नेतले परीक्षाका लागि मात्र नभई जीवनका लागि अध्ययन गर्नुपर्नेमा जोड दिए ।
कलेजका अध्यापक प्रकाशजंग कार्कीले मिडिया टेक्नोलोजीको अध्ययनको दायरा व्यापक भएकाले प्रभावकारी सिकाइका लागि विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।