© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका नेताहरूले १५औँ महाधिवेशन सम्पन्न भएपछि गाउँ–गाउँ पुग्ने संकल्प गरेका छन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनबाट थप ऊर्जा लिएर नेताहरू नागरिकमाझ पुग्ने र उनीहरूलाई सुसूचित गराउने तयारीमा छन् ।
काठमाडौंको खुलामञ्चमा आयोजित १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले महाधिवेशनले नागरिककहाँ पुग्ने नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
उनले महाधिवेशन सम्पन्न भएपछि पार्टीले स्पष्ट संकल्प गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘महाधिवेशन सम्पन्न गरिसकेपछि हामीले एउटा संकल्प गर्नुपर्ने छ । एउटा उत्तर दिनुपर्ने छ– जनतामा ऊर्जा लिएर गाउँ–गाउँ जाने तयारी गर्दैछौं कि छैनौं रु’
उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पनि महाधिवेशनपछि गाउँ–गाउँ पुग्ने संकल्प गरिने बताए । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि ‘नयाँ उत्साह र नयाँ आत्मविश्वास’ लिएर फर्किने तथा उक्त उत्साह गाउँ–गाउँसम्म पुर्याउने विश्वास व्यक्त गरे ।
त्यस्तै, कांग्रेस नेतृ सीता गुरुङले नेपाली कांग्रेस लोकतन्त्रको मूल पार्टी भएको बताइन् । नेपाल विविध जाति, भाषा, धर्म, संस्कार र संस्कृतिले सम्पन्न रहेको उल्लेख गर्दै उनले हिमाल, पहाड र तराईलाई एउटै सूत्रमा जोड्ने काम कांग्रेसले गर्दै आएको स्मरण गरिन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टीले आफूले खेल्नुपर्ने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दै आएको बताए । उपलब्धिको रक्षा गर्दै कांग्रेस विगतमा अघि बढेको र आगामी दिनमा पनि त्यसैगरी अघि बढ्ने उनको भनाइ थियो ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन आयोजना गरिरहेको कांग्रेसले जनाएको छ । १५औँ महाधिवेशनमा ७ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।