Butwal Today

बाइस वर्षपछि ‘सम्यक महादान’ हुँदै

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-
काठमाडौँ ।
बाइस वर्षपछि आगामी माघ १ गते काठमाडौँ महानगरपालिकाले ‘सम्यक महादान’ आयोजना हुने भएको छ । कामपाले राष्ट्रियसभा गृहमा ‘सम्यक महादान’ मूल समारोह समितिको सचिवालय स्थापना गरेर सम्यक् महादान (नेवाः बौद्ध (बज्रयान) परम्परामा गरिने ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक दान) को तयारी थालेको हो ।
सम्यक लामो समयसम्म नभएकाले सम्पदाको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष सम्यक महादानको काम गर्न लागिएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमिति, सरोकार भएका निकाय र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्ने उनले बताइन् ।
कामु प्रमुख डङ्गोलका अनुसार नेपाल मण्डलमा सम्यक महादान दुई प्रकारले गर्ने गरिएको छ । एउटा जसलाई इच्छा लाग्यो, उसले गर्न सक्छ । यसलाई ऐच्छिक सम्यक भनियो । अर्को गुठीबाट गर्ने गरिएको सम्यक हो । जसलाई गुठी सम्यक भनिन्छ ।
“काठमाडौँमा गुठी सम्यक तीन भिन्नाभिन्नै खलकको समूहले हरेक चार वर्षमा गर्दथे । पछि यी तीन वटै समूह मिलेर हरेक १२ वर्षमा एक चोटी गर्दै आएका थिए”, समितिका संयोजक नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले भने, “गुठी सम्यक नभएको २२ वर्ष भयो । ऐच्छिक सम्यक नभएको २५ वर्ष भयो ।”
यो सम्यक सञ्चालन तथा व्यवस्थापनलगायतका नीतिगत काम गर्न असोज ८ गते कामपाकी कार्यवाहक प्रमुख डङ्गोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा भइसकेको छ । कार्यवाहक प्रमुख डङ्गोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ ।
मुख्य दुई दिन हुने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा मनाइने परम्परा छ । महादान २०६१ सालपछि काठमाडौँमा मनाउन नसकिएको समितिका संयोजक प्रा डा. बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?