© 2026
लमही ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९औँ वार्षिकोत्सवको अवसरमा आज ७ किलोमिटर म्याराथन दौड आयोजना गरिएको छ । दौडमा प्रतिष्ठानका चिकित्सक, नर्स, शिक्षक तथा कर्मचारी गरी करिब २ सय जनाको सहभागिता रहेको थियो ।
दौड प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा रामनारायण मण्डलले गरेका हुन । कार्यक्रमा प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्साल, डिन प्राडा कृष्णकुमार झा र अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइली, बिभिन्न बिभागका प्रमुखलगायतको उपस्थितिमा म्याराथन सम्पन्न भएको हो ।
प्रतिष्ठानको बेसिक साइन्स भवनबाट सुरु भएको दौड घोराहीको तुलसीपुर चोक हुँदै गुलरिया पार्क पुगेर पुनः बेसिक साइन्स भवनमै आएर समापन भएको हो ।
दौडमा पुरुषतर्फ दिवाकर मल्ल प्रथम, बिनय चौधरी द्वितीय र विज्ञान शाही तृतीय भएका छन् । त्यस्तै महिलातर्फ पवन थापा प्रथम, पुष्पाञ्जली ठाकुर द्वितीय र अप्सना खातुन तृतीय भएका छन् ।
प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्रसँगै मेडलसमेत प्रदान गरिनेछ ।
यसैबीच प्रतिष्ठानको ९औँ वार्षिकोत्सवको औपचारिक समापन कार्यक्रम असोज २३ गते शुक्रबार हुने भएको छ । प्रतिष्ठान परिसरमा झण्डोत्तोलन गरिने तथा बिहान १० बजेदेखि सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव समापन गरिने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।