© 2026
सुनवल ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको खुलातर्फ प्रतिस्पर्धा गरेका पाठक पराजित भएका हुन् । पाठकले ३९८ मत प्राप्त गरेका छन् । खुलातर्फ १०औँ नम्बरमा निर्वाचित हुने उम्मेदवारले ४०८ मत प्राप्त गरेका छन् । १०औँ नम्बरमा निर्वाचित हुन आवश्यक मतभन्दा पाठक १० मतले पछि परेका हुन् ।
केन्द्रीय सदस्य पाठकले रामग्राम नगरपालिका–९ बाट आफ्नै परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएको विषयसमेत आलोचनाको विषय बनेको थियो । सो वडाबाट सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिमध्ये पाठक परिवारका ११ जना रहेको विषय सार्वजनिक भएको थियो ।
गत प्रतिनिधिसभा निर्वाचनका क्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर समेत पाठक आलोचित बनेका थिए । यस्तै जिल्लाका कार्यवाहक सभापति विक्रम प्रसाद यादव पनि अधिवेशनमा पराजित भएका छन् । यादवले पेसागत तर्फ गरेको प्रतिस्पर्धामा देवीकला शर्मा ४४८ मत ल्याएर विजयी हुँदा यादवले ४३९ मत पाउनुभएको हो ।
पश्चिम नवलपरासीमा काँग्रेसभित्र केन्द्रीय सदस्य पाठक, पूर्व सुनवल नगर प्रमुख भीमबहादुर थापा र अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पक्षबिच समूहगत प्रतिस्पर्धा देखिँदै आएको छ ।
क्षेत्र नम्बर २ अन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमध्ये एउटामा कँडेल पक्ष र अर्कोमा पाठक पक्षका उम्मेदवार विजयी भएका छन् । चासोका साथ हेरिएको प्रतिनिधिसभा क्षेत्रीय नेतृत्वमा समेत कँडेल पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर दुईको क्षेत्रीय सभापतिमा लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका बैजनाथ कलवार विजयी भएका हुन् ।
सबैभन्दा बढी मत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गुणनिधि तिवारीले ६४१ प्राप्त गरेका छन् । मतदानमा कुल ९८६ मत खसेको थियो ।