Butwal Today

पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु, मौसममा क्रमिक सुधार

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शनिबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको विभागले जनाएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश भूभाग तथा गण्डकी प्रदेशको पश्चिमी थोरै भूभागबाट समेत मनसुन बाहिरिएको अधिकारीले बताए । देशका अन्य भूभागमा पनि मनसुन क्रमशः कमजोर हुँदै गइरहेको विभागले जनाएको छ ।

मनसुन बहिर्गमनको अवस्थाबारे विभागले नियमित अनुगमन गरिरहेको छ । आगामी दिनमा देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिँदै जाने र पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित जानकारी गराइने विभागले जनाएको छ ।

मनसुन बाहिरिए पनि वर्षा पूर्ण रूपमा नरोकिने भएकाले सतर्कता अपनाउन मौसमविद् अधिकारीले आग्रह गरेका छन् । उनका अनुसार मनसुन बहिर्गमन हुँदैमा वर्षा पूर्ण रूपमा रोकिने हुँदैन । पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा हुन सक्नेछ ।

आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना छैन

विभागले आगामी २४ घण्टामा देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद् अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा लमजुङको फलेनी केन्द्रमा मात्र भारी वर्षा मापन भएको छ ।

हाल तराईका अधिकांश भूभागमा घाम लागेको छ । पूर्वी तराईको झापा आसपासका एक–दुई स्थानमा हल्का वर्षा भइरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको विभागले जनाएको छ ।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेश प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा अपराह्नपछि एक–दुई स्थानमा सामान्य वर्षा हुन सक्नेछ । पश्चिमी तराईका भूभागमा भने दिउँसो वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

शनिबार रातिदेखि मौसममा थप सुधार आउने विभागको पूर्वानुमान छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना नरहेको बताइएको छ ।

देशभर कुनै मौसमी चेतावनी नरहेको र सबै भूभागलाई सुरक्षित अवस्थाका रूपमा हरियो रङ दिइएको अधिकारीले बताए । धान भित्र्याउने समय भएकाले हल्का वर्षाले समेत कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै उनले किसानलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र कृषि कार्य गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?