© 2026
सिद्धार्थनगर ।
चाडपर्व नजिकिँदै गर्दा रुपन्देहीको सिद्धार्थनगरमा गरिएको बजार अनुगमनका क्रममा होटलदेखि अस्पतालको क्यान्टिन र बेकरीसम्म खाद्य स्वच्छतामा गम्भीर लापरबाही भेटिएको छ । अनुगमनका क्रममा खुला रूपमा खाना राखिएको, अस्वस्थकर वातावरणमा खाद्य पदार्थ तयार गरिएको, बिग्रिएको ढक प्रयोग गरी कम तौल दिने गरिएको र उत्पादन भएको दिनभन्दा पछिल्लो मिति राखेर खाद्य सामग्री प्याकिङ गरिएको समेत पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सिद्धार्थनगर नगरपालिका (आर्थिक विकास शाखा) को संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा होटलहरूमा खाना खुला रूपमा राखिएको, भान्सामा धुलो पस्ने तथा अस्वस्थकर वातावरण रहेको र केही व्यवसायीले व्यवसाय दर्ता नवीकरण नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिएका छन् ।
नयौपानेका अनुसार ठेलागाडीमा फलफूलसँगै सुर्तीजन्य पदार्थ बिक्री गरिएको तथा ५०० ग्रामको बिग्रिएको र फुटेको ढक प्रयोग गरी उपभोक्तालाई कम तौल दिने गरेको समेत भेटिएको थियो । अनुगमन टोलीले उक्त बिग्रिएको ढक र सुर्तीजन्य पदार्थ जफत गरेको उनले बताए ।
अस्पतालको क्यान्टिनमा समेत अस्वस्थकर रूपमा खाना तथा खाजा तयार गरिएको र पुरानो कार्टुनमा खाना राखिएको पाइएको टोलीले जनाएको छ । खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने यस्ता गतिविधि तत्काल सुधार गर्न व्यवसायीलाई निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा प्रदीप बेकरीमा अझ गम्भीर त्रुटि समेत फेला परेको छ । सो दिन तयार गरिएको खाद्य सामग्रीमा भोलिको मिति उत्पादन मिति (म्यानुफ्याक्चरिङ डेट) राखेर प्याकिङ गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ । खाद्य वस्तुको उत्पादन तथा मिति विवरणमा गरिएको यस्तो त्रुटिले उपभोक्तालाई भ्रममा पार्न सक्ने भएकाले सुधार गर्न निर्देशन दिइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख उद्योग अधिकृत शारदा भट्टराईका अनुसार अनुगमनको मुख्य उद्देश्य व्यवसायीलाई तत्काल दण्डित गर्नु नभई सचेत गराउने, सुधारका लागि सहजीकरण गर्ने तथा उपभोक्ताले स्वच्छ र गुणस्तरीय वस्तु तथा सेवा पाउने वातावरण निर्माण गर्नु हो । न्यूनतम मापदण्ड पूरा नगरेका व्यवसायीलाई सुधारका लागि निश्चित समय दिई आवश्यक निर्देशन तथा सचेत गराइएको उनले बताइन ।
अनुगमन टोलीले व्यवसायीलाई खाना तथा खाद्य सामग्री सिसा वा जालीले छोपेर राख्न, भान्सा तथा व्यवसायस्थल सफा राख्न, फोहोरको उचित व्यवस्थापन गर्न र व्यवसाय दर्ता समयमै नवीकरण गर्न निर्देशन दिएको छ ।
टोलीले सुधारका लागि दिएको निर्देशन पालना नगरेमा वा आगामी अनुगमनमा पुनः उस्तै त्रुटि दोहोरिएमा प्रचलित ऐन–कानुनबमोजिम जरिवानादेखि व्यवसाय बन्द गराउनेसम्मको कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।
अनुगमन टोलीका अनुसार बजार अनुगमनले व्यवसायीलाई स्वच्छ तथा व्यवस्थित रूपमा व्यापार गर्न सचेत गराउनुका साथै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ छनोट गर्न जागरुक बनाउने काम गर्छ । त्यसैले बजारमा स्वच्छता र गुणस्तर कायम राख्न यस्ता अनुगमनलाई हरेक साता वा १० देखि १५ दिनको अन्तरमा जिल्लाका विभिन्न क्षेत्रमा निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
चाडपर्व नजिकिँदै गर्दा खाद्य तथा उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने र व्यवसायीले न्यूनतम मापदण्ड पालना गरे/नगरेको विषयमा निगरानी बढाउने तयारी गरिएको छ ।




