© 2026
भैरहवा ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा क्लबको भौतिक विकाससँगै संस्थागत एकता, सदस्यबिचको सहकार्य, पत्रकार कल्याण र पेसागत सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गानाले क्लबको भौतिक उचाइ बढ्दै जाँदा सदस्यहरूबिचको एकता र आपसी सहकार्य पनि अझ मजबुत हुनुपर्ने बताए । उनले संस्थाको वास्तविक उचाइ भवनले मात्र नभई सदस्यहरूबिचको प्रगाढ सम्बन्ध, सद्भाव र सहकार्यले निर्धारण गर्ने उल्लेख गरे । “जतिसुकै राम्रो भवन बने पनि सदस्यहरूबिच एकता, सद्भाव र सहकार्य भएन भने संस्थाले समाजमा वास्तविक उचाइ र प्रतिष्ठा हासिल गर्न सक्दैन,” उनले भने ।
ढुङ्गानाले क्लब स्थापनाको समयका चुनौती स्मरण गर्दै संस्थालाई टिकाउन र सबैलाई समेटेर अघि बढाउन आफूहरूले विभिन्न कठिनाइको सामना गरेको बताए । उनले घर–घरमै पुगेर सदस्यहरूलाई जोड्ने प्रयास गरिएको स्मरण गर्दै वर्तमान अवस्थामा क्लबलाई व्यवस्थित र सुदृढ बनाउन वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी तथा सम्पूर्ण सदस्यको योगदान महत्त्वपूर्ण रहेको बताए ।
साधारण सभामा क्लबका अध्यक्ष कमल रायमाझीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबलाई पारदर्शी, दिगो र आर्थिक रूपमा आत्मनिर्भर संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनी प्रेस क्लब कुनै व्यक्ति विशेषको संस्था नभई यस क्षेत्रका सम्पूर्ण पत्रकारको साझा संस्था र भरोसाको केन्द्र भएको बताए ।
अध्यक्ष रायमाझीका अनुसार क्लबको आफ्नै भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणका लागि स्थानीय तहबाट १० लाख रुपैयाँ र प्रदेश सरकारबाट ८ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । भवन निर्माणका क्रममा अग्रजहरूले हस्तान्तरण गरेको ऋणमध्ये करिब ९३ प्रतिशत ऋण मिनाहा हुनु संस्थागत विकासको महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।
साधारण सभाले पत्रकारको हकहित र स्वास्थ्य उपचारका लागि ‘पत्रकार कल्याणकारी तथा स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने आधार तयार गरेको जानकारी दिइएको छ । कोष सञ्चालनका लागि कार्यविधि पारित भइसकेको र आगामी दिनमा पत्रकारका लागि पेन्सनलगायतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष रायमाझीले बताए ।
यसै गरी, रसुवाको भोटेकोसीमा आएको बाढी तथा विपद्बाट प्रभावित पत्रकार र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउँदै क्लबले र१ लाख १ हजार १११ रुपैयाँ सहयोग उपलब्ध गराएको जानकारी पनि साधारण सभामा दिइएको थियो । क्लबको उक्त पहलबाट प्रेरित भएर नेपाल पत्रकार महासङ्घ केन्द्रले समेत पहिलो पटक विपद् कोष स्थापना गरेको अध्यक्ष रायमाझीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
बदलिँदो प्रविधिसँगै पत्रकारिताको स्वरूपसमेत परिवर्तन भइरहेको भन्दै क्लबले आगामी दिनमा पत्रकारका लागि कृत्रिम बौद्धिकता ९एआई०, डिजिटल पत्रकारिता तथा खोज एवं अनुसन्धानमूलक पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
साधारण सभामा लुम्बिनी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा भन्सार, पर्यटन, उद्योग तथा व्यापारिक सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न स्थानीय पत्रकार र क्लबले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।
क्लबले आगामी दिनमा सदस्यता शुद्धीकरण, सक्रिय पत्रकारको सहभागिता, पारदर्शी आर्थिक प्रणाली तथा अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोड्ने वातावरण निर्माण गर्ने जनाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै पत्रकारको पेसागत सुरक्षा र हकहितका विषयमा सदस्यहरूबिच एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता पनि साधारण सभामा व्यक्त गरिएको छ ।