© 2026
काठमाडौँ । करिब साढे ३ महिनाअघि असार ५ गते नेपाल प्रवेश गरेको वर्षा गराउने मौसम प्रणाली मनसुन आज असोज १७ गतेदेखि बाहिरिन सुरु गरेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पूरै क्षेत्र अनि लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै स्थानबाट मनसुन हटेको हो। देशका बाँकी स्थानमा भने मनसुन बाँकी नै छ।

योसँगै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव छ भने बागमती मधेस र काेसी प्रदेशका सम्पूर्ण भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी स्थानमा मनसुनी वायुको आंशिक प्रभाव छ। मौसमविद्का अनुसार मनसुन एकैचोटि पूरै देशबाट बाहिरिँदैन। यो प्रणाली देशको पश्चिमी क्षेत्रबाट क्रमश: हट्दै हट्दै पूर्व कोसी प्रदेशबाट बाहिरिन्छ। मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ।
नेपालबाट वर्षा यामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। यद्यपि यो औसत मिति मात्र भएकाले मनसुन ठ्याक्कै यही दिन नेपालबाट बाहिरिँदैन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ। यसपटक औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ तारिखका दिन देशका केही प्रदेशबाट मनसुनको प्रभाव हटेको हो। अब केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो। यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो।
मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ। मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ। मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।