© 2026
बर्दिया ।
वर्षायाम सुरु भएसँगै देशका कतिपय राष्ट्रिय निकुञ्जमा जंगल सफारी तथा पर्यटकीय गतिविधिमा कडाइ गरिए पनि बर्दिया राष्ट्रिय निकुञ्जमा भने जंगल सफारी सञ्चालनमा छ । सफारी खुला रहेपछि बर्खाको मौसममा समेत स्वदेशी तथा विदेशी पर्यटक निकुञ्ज पुगेर वन्यजन्तु र प्राकृतिक सौन्दर्यको अवलोकन गरिरहेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज ५ गतेसम्म ९४५ जना नेपाली, ६९ जना सार्क राष्ट्रका र १०१ जना अन्य विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यस अवधिमा कुल १ हजार १ सय १५ जना पर्यटकले निकुञ्ज पुगेका छन् ।
बर्खाको समयमा पनि सफारी सञ्चालन भइरहेकाले पर्यटकको आगमनमा निरन्तरता आएको पर्यटन व्यवसायीहरू बताउँछन् । वर्षाका कारण जंगल हराभरा हुने र प्राकृतिक वातावरण थप मनमोहक देखिने भएकाले बर्खामा बर्दिया घुम्न आउने पर्यटकले फरक अनुभव लिन सक्ने उनीहरूको भनाइ छ ।
बर्दियास्थित रोयल टाइगर कटेजका सञ्चालक राम शाहीले पछिल्लो समय विदेशी पर्यटकसँगै नेपाली पर्यटकको संख्या पनि बढ्दै गएको बताए । उनका अनुसार बर्दिया निकुञ्जमा पाइने वन्यजन्तु, जैविक विविधता तथा साहसिक पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षित गरिरहेको छ । ‘पछिल्लो समय विदेशीमात्र नभएर निकुञ्ज घुम्न आउने नेपाली पर्यटकको सङ्ख्या पनि बढ्दै गइरहेको छ,’ शाहीले भने, ‘निकुञ्जमा पाइने जैविक विविधता, जंगल सफारी, जंगल वाक, राफ्टिङ लगायतका गतिविधिको प्रचारप्रसार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’
बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकन तथा प्राकृतिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । निकुञ्जमा पाटेबाघ, एकसिङ्गे गैँडा, जंगली हात्ती, अजिङ्गर, चित्तल, मृग, बाह्रसिङ्गे लगायतका वन्यजन्तु अवलोकन गर्न सकिन्छ । वन्यजन्तु अवलोकनसँगै निकुञ्जको जंगल सफारी पर्यटकका लागि प्रमुख आकर्षण बन्दै आएको छ । विशेषगरी बाघ अवलोकनका लागि बर्दिया राष्ट्रिय निकुञ्जले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउँदै गएको छ ।
सफारीका क्रममा वन्यजन्तु, चराचुरुङ्गी र निकुञ्जको प्राकृतिक वातावरण नजिकबाट नियाल्न पाइने भएकाले प्रकृतिप्रेमी तथा वन्यजन्तुमा रुचि राख्ने पर्यटकको आकर्षण बढिरहेको छ ।
जंगल सफारीबाहेक जंगलवाक र कर्णाली नदीमा राफ्टिङ पनि बर्दियाका प्रमुख पर्यटकीय गतिविधि हुन् । यी गतिविधिले बर्दियाको पर्यटनलाई वन्यजन्तु अवलोकनमा मात्र सीमित नराखी प्रकृति तथा साहसिक पर्यटनसँग जोडेको छ । बर्खाको समयमा निकुञ्जको जंगलमा हरियाली बढ्नुका साथै नदी, खोल्सा तथा तालतलैयामा पानीको मात्रा बढ्ने भएकाले प्राकृतिक दृश्यसमेत आकर्षक बन्ने गर्छ । यही समयमा वन्यजन्तुको गतिविधि र चराचुरुङ्गी अवलोकनमा फरक अनुभव लिन सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
बर्दियामा पर्यटकको आगमन बढेसँगै होटल, रिसोर्ट, होमस्टे, जंगल सफारीका जीप, गाइड तथा स्थानीय उत्पादनसँग जोडिएका व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने गरेको छ । त्यसैले निकुञ्जको पर्यटनलाई स्थानीय समुदायको रोजगारी र आयआर्जनसँग जोड्न सकिने सम्भावना पनि उत्तिकै रहेको छ । पर्यटन व्यवसायीहरूले बर्दियामा पर्यटक आकर्षित गर्न वन्यजन्तु र जैविक विविधतासँगै थारू समुदायको संस्कृति, परम्परागत खानपान, कला तथा होमस्टेलाई समेत पर्यटनसँग जोडेर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले बताए ।
बर्खामा पनि सफारी सञ्चालन भइरहेकाले बर्दिया राष्ट्रिय निकुञ्जले वर्षायाममा समेत पर्यटकका लागि आफ्नो आकर्षण कायम राखेको छ । पर्यटकीय पूर्वाधार सुधार, प्रभावकारी प्रचारप्रसार तथा जंगल सफारी, जंगलवाक र राफ्टिङजस्ता गतिविधिलाई थप व्यवस्थित गर्न सके बर्दियामा वर्षभरि पर्यटक भित्र्याउने सम्भावना अझ बढ्ने देखिन्छ ।