Butwal Today

श्रमिक कल्याणकारी कोषका लागि कतारमा गुन्जिँदै लेकाली ब्याण्ड

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

दोहा (कतार) ।

‘गण्डकी प्रदेश समन्वय परिषद् कतारले श्रमिक कल्याणकारी कोष स्थापनार्थ’ साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा साङ्गीतिक कार्यक्रम गर्न लागिएको हो ।

परिषद्को आयोजना तथा प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाहरूको सह,आयोजनामा हुने कार्यक्रममा नेपाली साङ्गीतिक क्षेत्रको चर्चित लेकाली ब्यान्डको लाइभ प्रस्तुति रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

कार्यक्रममा लेकाली ब्यान्डले‘ यो मुटुमा, सपनीमा अँजुली भरी माया, पहिलो नजर, नजाऊ न छाडी मायालु, वनमा कस्तुरी, पोखरेली नानी’ लगायतका चर्चित गीतहरू लाइभ प्रस्तुत गर्ने छ । आयोजकका अनुसार गण्डकी प्रदेशका मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सामूहिक नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुतिसमेत रहने समेत जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै गण्डकी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष कल्याण थापाले लेकाली ब्यान्डको प्रस्तुतिसँगै श्रमिक कल्याणकारी कोष स्थापनाको उद्देश्यबारे जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा भिक्टोरिया गोल्ड एन्ड डायमन्ड रहने समेत उनले बताए । कार्यक्रमको आर्थिक संयोजक अर्जुन सग्रौलाले कार्यक्रम सम्पन्न गर्न करिब पचास हजार कतारी रियाल खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै परिषद्का अध्यक्ष नन्दलाल विकले कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइने बताए । उनले  कार्यक्रमबाट उठेको रकम पारदर्शिताका साथ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कोषको कार्यविधि र सञ्चालन ढाँचा तयार गरिने बताए । कार्यक्रमबाट प्राप्त मुनाफा रकम कल्याणकारी कोषमा राखिने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागी सामाजिक व्यक्तित्वहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । आयोजकका अनुसार विभिन्न संघसंस्थासँग सहकार्य गरी टिकट वितरणको जिम्मेवारी बाँडफाँट अघि बढाइएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुकका लागी प्रवेश शुल्क कतारी रियल तीस निर्धारण गरिएको छ भने मुख्य तथा सह,प्रायोजकबाट समेत सहयोगको अपेक्षा गरिएको छ । आगामी ६ नोभेम्बर २०२६ शुक्रवारका दिन कतारको वोकिर स्थित डिपिएस मोनार्क ईन्टरनेशनल स्कुलको सभा हलमा हुने सम्मेलनमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?