Butwal Today

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारीमा जुट्यो उद्योग व्यापार संघ

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बाणगंगा । उद्योग व्यापार संघ कपिलवस्तुले दोस्रो कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीको तयारी अघि बढाएको छ। आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म कपिलवस्तुको बाणगंगा नगरपालिका–८, बोडगाउँस्थित मायादेवी रंगशालामा मेला आयोजना हुने संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

संघले विगतमा महोत्सव सञ्चालन हुँदै आएको समय र स्थानलाई निरन्तरता दिँदै यस वर्ष पनि मायादेवी रंगशालामै मेला आयोजना गर्न लागेको जनाएको छ। मेलालाई व्यवस्थित, प्रभावकारी तथा व्यवसाय प्रवद्र्धनमुखी बनाउने उद्देश्यसहित तयारीका काम अघि बढाइएको आयोजकले जनाएको छ।

संघका अध्यक्ष तथा मेला संयोजक टोपनारायण बेल्वासेले स्थानीय व्यापार, कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए। उनले मेलालाई सफल बनाउन आवश्यक तयारी भइरहेको जानकारी दिए।

संघका निवर्तमान अध्यक्ष तथा संरक्षक खिमानन्द पौडेल (कोपिल) ले व्यापार मेलाले समग्र कपिलवस्तुको कृषि तथा व्यावसायिक क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने बताए। उनले बाणगंगा तथा समग्र कपिलवस्तुको व्यापार मेला कुनै एक संस्था वा समूहको मात्र पेवा नभई सबैको साझा प्रयासबाट अघि बढाउनुपर्ने धारणा राखे। मेलाको विषयमा एकाधिकारको सोचभन्दा सहकार्य र सहअस्तित्वलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूले बाणगंगा क्षेत्रमा छुट्टाछुट्टै महोत्सव सञ्चालन गर्नुभन्दा सबै पक्षबीच सहमति कायम गरी एउटै साझा महोत्सव आयोजना गर्नुपर्ने सुझाव दिएका थिए। उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवालाबीच प्रतिस्पर्धा र विभाजनको अवस्था सिर्जना गर्नुभन्दा एउटै मञ्चमार्फत स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन गर्न सके समग्र क्षेत्रलाई लाभ पुग्ने उनीहरूको धारणा थियो।

पत्रकारहरूको सुझावप्रति प्रतिक्रिया दिँदै अध्यक्ष बेल्वासेले महोत्सवलाई साझा रूपमा सञ्चालन गर्न आफूहरूले पटक–पटक छलफल तथा सहमतिको प्रयास गरेको बताए। उनका अनुसार बाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग वाणिज्य संघसँग आलोपालो महोत्सव आयोजना गर्ने विषयमा कागजी सहमति भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको हो।

त्यस्तै, उद्योग व्यापार संघ कपिलवस्तुका महासचिव माधव भाट क्षेत्रीले महोत्सवलाई साझा, व्यवस्थित र उत्कृष्ट बनाउन संघ तयार रहेको बताए। सबै पक्षबीच सहअस्तित्व, सहकार्य र सहमतिको वातावरण बने संयुक्त रूपमा अघि बढ्न सकिने उल्लेख गर्दै उनले सहमति हुन नसके आफ्नै ढंगबाट उत्कृष्ट महोत्सव सञ्चालन गर्ने तयारीमा संघ रहेको स्पष्ट पारे।

सरोकारवालाहरूले महोत्सवको संख्या वा संस्थागत प्रतिस्पर्धाभन्दा व्यवसायीको हित, बजार विस्तार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। एउटै क्षेत्रमा छुट्टाछुट्टै महोत्सव सञ्चालन हुँदा व्यवसायी, प्रायोजक, दर्शक तथा बजार विभाजित हुन सक्ने भएकाले त्यसको दीर्घकालीन प्रभावलाई समेत ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।

मेला आयोजना गर्ने तयारीसँगै आयोजकले स्टल व्यवस्थापन, व्यापारिक गतिविधि, सांस्कृतिक कार्यक्रम तथा अन्य आवश्यक व्यवस्थापनका कामलाई तीव्रता दिने जनाएको छ। मेलामार्फत स्थानीय उत्पादनको बजारीकरण, व्यवसाय विस्तार तथा कृषि, पर्यटन र औद्योगिक क्षेत्रको प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा आयोजकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?