© 2026
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आम जनमानसलाई जापानिज इन्सेफ्लाइटिस रोगबाट जोगिन अनुरोधको साथमा परिपत्र नै गरिसकेको हुनाले यस रोगबाट पनि बच्न र जोगिन सबैजना सचेत र सक्रिय हुनु आवश्यक छ । नेपालमा पछिल्लो केहि बर्षमा जापानिज इन्सेफ्लाइटिस रोगको रोगदर र मृत्युदर बढ्दो क्रममा रहेको छ ।
नेपालमा बिक्रम सम्बत २०६२÷०६३ देखि जापानिज इन्सेफ्लाइटिस रोग बिरुद्धको खोप अभियान सन्चालन गरिएको थियो । त्यसपछि जेई खोपलाई नियमित खोप कार्यक्रममा समाबेश गरी निरन्तरता दिइएको छ । जापानिज इन्सेफ्लाइटिस रोग मानिसको मस्तिष्कलाई प्रभावित पार्ने एक प्रकारको गम्भिर र प्राणघातक विषाणुजन्य भाइरल सरुवा रोग हो ।
विशेषगरी एसियाली मुलुकहरूमा जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहेको यो रोग फ्लेभीभाइरस नामक भाइरसका कारणले हुन्छ । समयमै उचित रोकथाम र उपचार नभएमा यसले बिरामीको ज्यान समेत लिन सक्छ वा जीवनभरका लागि शारीरिक तथा मानसिक अपाङ्गता पनि गराउन सक्दछ ।
जापानीज इन्सेफलाइटिस रोग उत्पन्न हुनु र फैलिनुमा मुख्य रूपमा भाइरस, वाहक र भण्डारकको भूमिका हुन्छ । यो रोग मुख्यतया ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । विशेषगरी ऋगभिहतचष्तबभलष्यचजथल प्रजातिको लामखुट्टे यसको मुख्य वाहक हो । यस्ता लामखुट्टेहरू धानखेत, खाडल, पानी जमेको स्थान र घर वरपरका पानी जमेका खाडल र फोहोर पानीमा बढी हुर्कन्छन् ।
भाइरसका स्रोत÷भण्डारकः सुँगुर, बंगुर र धानखेतमा पाइने बकुल्ला जस्ता पानी चराहरू यस भाइरसका मुख्य ‘एम्प्लिफाइङ होस्ट’ (भाइरसको संख्या बढाउने माध्यम) हुन् । जब लामखुट्टेले सङ्क्रमित सुँगुर वा चरालाई टोक्छ, लामखुट्टेको शरीरमा भाइरस प्रवेश गर्छ । पछि सोही लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा रोग सर्दछ । ध्यान दिनुपर्ने र महत्वपूर्ण कुरा के छ भने यो रोग मानिसबाट मानिसमा सिधै (छोएर, थुकबाट वा सँगै बस्दा) सर्दैन । लामखुट्टेको टोकाईबाट नै मुख्य सर्ने माध्यम यो रोगको मानिन्छ ।
लक्षण तथा चिन्हहरूः
सङ्क्रमित लामखुट्टेले टोकेको ५ देखि १५ दिनभित्रमा यो रोगका लक्षण तथा चिन्हहरू देखिन थाल्छन् । धेरैजसो मानिसहरूमा सङ्क्रमण भएतापनि साधारण लक्षण वा कुनैपनि लक्षण नदेखिन पनि सक्छन् । तर केही केही मानिसमा भने यसले गम्भीर रूप लिन सक्दछ ।
सुरुवाती चरणका लक्षणहरूः
– एक्कासी उच्च ज्वरो आउनु ज्वरो १०२ देखि १०४ डिग्रीसम्म आउन सक्दछ ।
– कडा किसिमको टाउको दुख्नु ।
– अत्यधिक थकान र कमजोरीको महसुस हुनु ।
– वाकवाकी लाग्नु वा बान्ता हुनु ।
मस्तिष्कमा असर परेका लक्षणहरूः
– घाँटी चलाउन वा निहुराउन गाह्रो हुनु ।
– मानसिक सन्तुलन बिग्रनु । दोधारमा पर्नु । मानिस वा ठाउँ नचिन्नु र बेहोस हुनु ।
– कम्पन र काम्ने समस्या । विशेषगरी बालबालिकामा डरलाग्दो गरी काम्ने÷छारे रोग जस्तो लक्षण देखिनु ।
– शरीरका अङ्गहरू पक्षाघात हुनु, हातखुट्टा चलाउन नसक्नु वा मांसपेशीहरू अशक्त हुनु ।
– कोमाः गम्भीर अवस्थामा बिरामी पूर्णरूपमा बेहोस भई कोमामा जानु ।
असरः यो रोग लागेका गम्भीर बिरामीहरूमध्ये करिब ३०% को मृत्यु हुने गर्दछ भने निको भएकाहरूमध्ये ३० देखि ५०% मानिसहरूमा मानसिक अपाङ्गता, सुस्तता, वा शारीरिक अशक्तता जीवनभर रहिरहन सक्छ ।
जोगिने तथा रोकथामका उपायहरूः
कुनैपनि भाइरसबाट लाग्ने रोगहरूको स्फेसिक उपचार वा औषधि नरहेको हँुदा जापानीज इन्सेफ्लाइटिस रोगको पनि कुनै निश्चित भाइरस मार्ने औषधि छैन । त्यसैले अस्पतालमा बिरामीको लक्षण अनुसारको हेरचाह र सहयोगी उपचार मात्र गरिन्छ । त्यसैले रोकथाम नै उत्तम उपाय हो र रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस भन्ने भनाई र सिद्धान्तलाई अङ्गालेर यसबारे सजक र सचेत भएर आफ्नो दैनिकीमा लागियो भने मात्र यस रोगबाट सजिलोसंग जोगिन र बच्न सकिन्छ । यही सिद्धान्त यस रोगमा पूर्णरूपमा लागू हुन्छ भन्नुमा कुनै दुइमत रहदैन् ।
जापानिज इन्सेफ्लाइटिस रोगबाट बच्न सबैभन्दा प्रभावकारी उपाय बालबालिकाका लागि जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोप अत्यन्तै सुरक्षित र प्रभावकारी छ । नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई १२ महिनाको उमेरमा यो खोप दिने गर्दछ र वयस्कका लागि जोखिमयुक्त क्षेत्र (तराई तथा भित्री मधेस) मा बस्ने वा भ्रमण गर्ने वयस्कहरूले पनि चिकित्सकको सल्लाह अनुसार र अभियानको क्रममा ३० बर्ष माथिका खोप दिन नहुने अबस्था बाहेकका सबै ब्याक्तिहरूले अनबार्य रूपमा खोप लगाउनुपर्छ ।
बिशेषगरी लामखुट्टेको टोकाइबाट बच्न निम्न उपाय गर्न सकिन्छ ।
– घर बाहिर निस्कँदा वा बेलुकीको समयमा शरीर पुरै ढाक्ने लामो बाहुला भएको कपडा र पाइन्टहरू लगाउने ।
– शरीरको खुला भागमा लामखुट्टे भगाउने मलम वा नरिवलको तेल प्रयोग गर्ने ।
– राति सुत्दा अनिवार्य रूपमा झुल (विशेषगरी किटनाशक औषधिले उपचार गरिएको झुल) को प्रयोग गर्ने ।
– घरको ढोका र झ्यालहरूमा मसिनो जाली हाल्ने ।
– घर वरिपरिका पानी जम्ने खाडलहरू पुरिदिने वा घर वरपर खेतबारी वा खाडलहरूमा लामो समयसम्म पानी जम्न नदिने ।
– कुलर, गमला, पुराना टायर, र पानीका भाँडाहरू नियमित सफा गर्ने र छोपेर राख्ने ।
– पानी जम्ने ठाउँहरूमा किटनाशक औषधि छर्कने वा ड्रेन सफा राख्ने ।
– सुँगुर, बंगुर र हाँस÷कुखुराका फारमरूलाई मानव बस्तीबाट टाढा राख्ने ।
– फारम वरपर कीटनाशक औषधि छर्कने र सरसफाइमा विशेष ध्यान दिने ।
जापानिज इन्सेफ्लाइटिस रोग एक प्राणघातक तर ब्यक्ति आफु सजग र सचेत भएमा सजिलै रोकथाम तथा छेकबार गर्न सकिने रोग हो । समयमै बालबालिकालाई खोप लगाउनु, लामखुट्टेको टोकाइबाट बच्नु र घर वरपरको वातावरण सफा राख्नु नै यस रोगबाट जोगिने प्रमुख आधारहरू हुन् । यदि कसैलाई उच्च ज्वरो आउने, कडा टाउको दुख्ने वा घाँटी कडा हुने जस्ता लक्षण देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्यकर्मीसंग वा स्वास्थ्य संस्था तथा अस्पतालमा लगेर तुरुन्त उपचार गराउनु पर्छ ।
यी कार्यहरू गरेमा जापानिज इन्सेफ्लाइटिस रोगबाट सजिलै बच्न सकिन्छ ।