Butwal Today

पाकेको धानमा हात्तीको त्रास

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बर्दिया । धान पाकेर भित्र्याउने समय नजिकिँदै गर्दा बर्दियाको गेरुवा गाउँपालिकाका किसानलाई जङ्गली हात्तीको त्रास बढेको छ । खेतमा धानका बाला झुल्न थालेसँगै रातको समयमा हात्ती बस्ती र खेततर्फ पस्न थालेपछि किसान आफ्नो उत्पादन जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

विशेषगरी गेरुवा गाउँपालिका–४ का बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका क्षेत्रमा हात्तीको आवतजावत बढेको स्थानीय किसानले बताएका छन् । निकुञ्ज आसपासका क्षेत्रसँगै गेरुवाका अन्य वडामा समेत रातको समयमा हात्ती खेतमा पस्ने, पाक्न थालेको धान खाने, कुल्चिने र माडेर नष्ट गर्ने गरेको किसानको भनाइ छ ।

वर्षभरि मेहनत गरेर हुर्काएको धान काटेर घर भित्र्याउने समय नजिकिँदै गर्दा हात्तीको प्रवेश बढेपछि किसानमा चिन्ता थपिएको छ । दिनभर खेतमा काम गर्ने किसान राति आराम गर्नुपर्ने समयमा हात्ती धपाउन खेततर्फ जानुपर्ने अवस्था आएको छ ।

गेरुवा–४ का किसान रामकिसना थारुले दिनभर खेतमा धानको अवस्था हेरेर घर फर्किएपछि राति हात्ती आएर बाली नष्ट गर्ने गरेको बताए । हात्तीको समूह खेतमा पसेपछि किसानले तत्काल केही गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

“वर्षभरि खेतमा पसिना बगाएर धान हुर्कायौँ । अहिले काट्ने बेला भएको छ । तर रात परेपछि हात्ती खेतमा आउँछ कि भन्ने डर हुन्छ । खेतमा गएर हेर्दा कतिपय ठाउँमा धान खाएको र कुल्चिएको भेटिन्छ,” उनले भने । स्थानीय किसानका अनुसार हात्ती खेतमा प्रवेश गरेपछि ठूलो आवाज निकाल्ने, टर्च बाल्ने, आगो बाल्ने तथा होहल्ला गरेर धपाउने गरिएको छ । तर हात्ती नजिक आउँदा मानिसमाथि आक्रमण गर्न सक्ने जोखिम रहेकाले यसरी हात्ती धपाउनु पनि जोखिमपूर्ण हुने गरेको उनीहरू बताउँछन् ।

गेरुवा–४ का स्थानीय बृजमोहन थारुले हात्तीको आवतजावत बढेपछि कतिपय किसान राति खेतमै बसेर निगरानी गर्न थालेको बताए । केही किसान पालो मिलाएर खेतमा जाने गरेका छन् भने कतिपयले गाउँका किसानबीच समन्वय गरी समूह बनाएर निगरानी गर्ने गरेका छन् ।

“हामीलाई धान काट्ने र घरमा भित्र्याउने हतार छ । तर राति हात्ती आउने भएकाले खेतमा निगरानी गर्नुपरेको छ । एकातिर धान पाकेर तयार भएको छ, अर्कोतिर हात्तीले कति नोक्सान गर्छ भन्ने डर छ,” उनले भने । किसानले हात्तीलाई खेतबाट धपाए पनि केही समयपछि पुनः फर्किने गरेको बताएका छन् । यसका कारण एक रात मात्र नभई लगातार धेरै रातसम्म जाग्राम बस्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । रातभर खेतमा बस्दा दिनको समयमा खेतको काम गर्नसमेत समस्या हुने गरेको किसानले बताएका छन् ।

हात्तीले धान खानेभन्दा पनि खेतमा आवतजावत गर्दा बाली कुल्चिएर र माडेर ठूलो क्षति पु¥याउने गरेको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणाले बताए । उनका अनुसार धान उत्पादनका लागि किसानले बीउ, मल, सिँचाइ, औषधि तथा मजदुरीमा ठूलो खर्च गरेका हुन्छन् । त्यसमा वर्षभरिको मेहनतसमेत जोडिएकाले भित्र्याउने बेलामा बाली नष्ट हुँदा किसानलाई आर्थिक क्षति हुने गरेको छ । “किसानले वर्षभरि गरेको मेहनत र लगानीको प्रतिफल लिने समय यही हो । यही समयमा बालीमा क्षति हुँदा आर्थिकसँगै मानसिक समस्या पनि थपिन्छ,” उनले भने ।

गेरुवा गाउँपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले यहाँ मानव–वन्यजन्तु द्वन्द्व नयाँ विषय होइन । वन क्षेत्रबाट निस्किएका वन्यजन्तु बस्ती र खेतीयोग्य जमिनमा प्रवेश गर्दा स्थानीयले समय–समयमा क्षति व्यहोर्दै आएका छन् । धान, मकै, गहुँलगायतका बालीमा वन्यजन्तुले क्षति पु¥याउने गरेको स्थानीय हरिप्रसाद थारुले बताए ।

धान पाक्ने मौसममा हात्तीको जोखिम अझ बढ्ने किसानको भनाइ छ । निकुञ्ज तथा वन क्षेत्र आसपास खेती गर्ने किसानले रातको समयमा विशेष सावधानी अपनाउने गरेका छन् । तर सबै किसानसँग पर्याप्त प्रकाश, तारबार वा अन्य सुरक्षा साधन नहुँदा समस्या थप जटिल बनेको उनीहरू बताउँछन् ।

किसानले तत्कालका लागि हात्ती प्रभावित क्षेत्रमा विशेष निगरानी र गस्ती बढाउन माग गरेका छन् । हात्ती कुन क्षेत्रमा देखिएको छ भन्ने सूचना समयमै किसानसम्म पु¥याउन सके रातको समयमा जोखिमयुक्त क्षेत्रमा जानबाट जोगिन सकिने उनीहरूको भनाइ छ ।

किसान गोविन्द चौधरीले हात्तीको गतिविधिबारे पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने बताए । “हात्ती कुन क्षेत्रमा छ भन्ने सूचना समयमै पाए खेततर्फ नजाने र आवश्यक सावधानी अपनाउन सकिन्छ । अहिले सूचना पाउन ढिला हुँदा किसान आफैँ जोखिममा पर्ने गरेका छन्,” उनले भने ।

हात्ती खेतमा प्रवेश गरेपछि एक्लै धपाउन जानु जोखिमपूर्ण भएकाले स्थानीयले समूह बनाएर सुरक्षित दूरीबाट निगरानी गर्ने गरेका छन् । टर्च बाल्ने, होहल्ला गर्ने र हात्तीलाई बस्तीबाट टाढा लैजाने प्रयास गरिए पनि रातको समयमा खेत तथा बाटो स्पष्ट नदेखिने भएकाले दुर्घटनाको जोखिम रहने किसान बताउँछन् ।

किसानले हात्तीलाई मार्ने वा चोट पु¥याउने नभई मानव र वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर नियन्त्रण तथा व्यवस्थापनको स्थायी उपाय खोज्नुपर्ने बताएका छन् । वन्यजन्तु संरक्षणसँगै निकुञ्ज आसपासका किसानको खेती र जनधनको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।

ार्ग पहिचान गरी त्यस क्षेत्रमा रातिको गस्ती बढाउन, जोखिमयुक्त स्थानमा चेतावनी प्रणाली राख्न, स्थानीय तह, निकुञ्ज प्रशासन, वन कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउन माग गरेका छन् । साथै हात्तीबाट भएको क्षतिको तत्काल यकिन विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्तिको प्रक्रिया सहज बनाउनुपर्ने उनीहरूको माग छ ।

गेरुवा–४ का स्थानीय जगमोहन थारुले हात्ती नियन्त्रणका नाममा वन्यजन्तुलाई क्षति नपुग्ने र किसानलाई पनि जोखिममा नपार्ने उपाय आवश्यक रहेको बताए । “खेत छाडेर घरमा बसौँ भने धान नष्ट हुने डर हुन्छ, खेतमा जाऔँ भने हात्तीको डर हुन्छ । किसानको सुरक्षा र बालीको क्षति दुवैलाई ध्यान दिनुपर्छ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत राणाका अनुसार धान काट्ने समय छोटो भएकाले तत्काल सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक छ । हात्तीको सम्भावित आवतजावत हुने क्षेत्र पहिचान गरी रातिको गस्ती, सूचना प्रवाह र क्षतिको तत्काल मूल्यांकनमा जोड दिनुपर्ने उनले बताए ।

वर्षभरि खेतमा पसिना बगाएर उत्पादन गरेको धान घर भित्र्याउने समय किसानका लागि खुसीको समय हुनुपर्ने भए पनि गेरुवाका किसानका लागि पाकेको धानसँगै हात्तीको त्राससमेत बढेको छ । समयमै प्रभावकारी सुरक्षा र समन्वय हुन नसके धान भित्र्याउने बेलासम्म किसानको वर्षभरिको मेहनत खेतमै नष्ट हुने जोखिम कायमै रहने स्थानीयको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?