Butwal Today

विदेश र अन्तरजिल्ला मतदानको व्यवस्थाबारे निर्वाचन आयोगले छलफल गर्दै

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्ने विषयमा विभिन्न राजनीतिक दलसँग छलफल गरी निचोडमा पुग्ने तयारी गरेको छ । यसका लागि आयोगले आज शुक्रबार केन्द्रीय कार्यालय, काठमाडौंमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ ।

बिहान साढे ११ बजेपछि सुरु हुने छलफलमा ४० भन्दा बढी राजनीतिक दलका नेताहरूलाई बोलाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगका विषयमा पनि आयोग र राजनीतिक दलबीच छलफल हुनेछ ।

सूचना अधिकारी घिमिरेका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४७ मा भएको व्यवस्थाअनुसार दलहरूसँग छलफल गर्न लागिएको हो ।

विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आए पनि आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रबन्ध नहुँदा यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

आयोगले यसका लागि एकीकृत कानुनको मस्यौदा तयार गरी लामो समयअघि नै गृह मन्त्रालयमा पठाएको थियो । तर, उक्त मस्यौदा अझै गृह मन्त्रालयबाट अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?