जनकपुर ।
धनुषामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतो रहो छन् । प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा पल्टिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लिगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन् ।
यसैबीच धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ ।
पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा साहको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालका अनुसार साह छिमेकीको घरमा विद्युत् मर्मतको कार्य गर्ने क्रममा उनको करेन्ट लागेर मृयु भएको हो ।