Butwal Today

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

‘लामो जीवन मानव सभ्यताको परिचय’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालका साथै विश्वभरि विभिन्न कार्यक्रम गरि मनाईदैछ । हरेक वर्षको अक्टोबर १ मा यो दिवस मनाउने गरिएको छ ।

जेष्ठ नागरिक हाम्रो विगतका साक्षी, वर्तमानका अनुभव र भविष्यका मार्गदर्शक हुन् । आज हामीले गर्व गर्ने परिवार, समाज, संस्कृति, परम्परा र संरचनाको जग निर्माण गर्न जेष्ठ नागरिकले पु¥याएको योगदान कहिल्यै विर्सन सकिदैन । तर, अफसोच यो दिवस मनाउँदै गर्दा पछिल्लोसमय जेष्ठ नागरिकहरू हेलामा पर्दै गएका छन् ।

 

उनीमाथि बाहिरबाट होइन, आफ्नै घरबाट अवहेलना र दुव्र्यवहार गर्ने क्रम बढ्दै गएको छ । आफ्नै घर परिवारबाट जेष्ठ नागरिकहरू तिरस्कृत हुँदै आएका छन् । घरैका लागि घाँडो भएपछि जेष्ठ नागरिकहरूको सहारा आश्रम र बृद्धाश्रम बन्दै गएका छन् । उनीहरूको सहारा छोरा छोरी होइन, बृद्धाश्रम हुने गरेको छ । अर्कोतर्फ सामाजिक सञ्जालले गर्दा एउटै घरमा बसेर पनि पुस्ताबीच संवाद कम हुँदै गएको छ । छोरा छोरीमात्रै होइन, नाती र हजुर बा, हजुर आमाप्रतिको विश्वासको खाडल बढ्दै गएको छ । पारिवारीक आत्मीयता संकुचनमा परिरहेको छ ।

प्रविधिको तीव्र विकासले नयाँ पुस्तालाई अगाडि लगेको छ भने कतिपय ज्येष्ठ नागरिकलाई प्रविधिको संसारमा आफू पछि परेको अनुभूति भइरहेको छ । यस्तो अवस्थामा ज्येष्ठ नागरिकको सबैभन्दा ठूलो समस्या कहिलेकाहीँ आर्थिक अभावभन्दा पनि एक्लोपन बन्न पुगेको छ । आज दिवसकै अवसरमा कम्तिमा यो विषयमा सम्बाद गर्ने र केही हदसम्म समस्या न्यूनिकरणको प्रयासमा जुट्नु जरुरी छ ।

जेष्ठ नागरिकलाई माया र सम्मान दिएरमात्रै पुग्दैन । उनीहरूका लागि आवश्यक स्वास्थ्य सेवा सहज र सुलभ हुनुपर्छ । हरेक दिन उनीहरूको विषयमा चासो दिनु अत्यावश्यक छ । सुरक्षित आवास, आवश्यक हेरचाह र सामाजिक सहभागिताको अवसरको लागि पहुँच बृद्धिमा सवैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने निश्चित रूपमा जेष्ठ नागरिकप्रतिको सम्मान बढ्नेछ ।

उनीहरूलाई सार्वजनिक यातायातमा छुट, सरकारी सेवाको पहुँच र बैंकिङ तथा डिजिटल सेवाहरू ज्येष्ठ मैत्री बनाउनेतर्फ सरकार र सम्वद्ध निकायको ध्यान जानैपर्दछ । वृद्धावस्था जीवनको स्वाभाविक चरण हो । त्यसलाई कमजोरी वा बोझका रूपमा हेर्नु सामाजिक दृष्टिकोणको कमजोरी हो ।

जेष्ठ नागरिकहरू आफैपनि बोझको रूपमा होइन, सम्मानको भागिदारको रूपमा आफूलाई समाजमा स्थापित गराउनेतर्फ ध्यान जाओस् । पछिल्लोसमय जेष्ठ नागरिकहरू आफ्नै घर परिवारबाट तिरस्कृत भैरहेको समाचार सुन्न परिरहेको छ । हामीले नबुझेर हो, जेष्ठ नागरिकसंग अथाह सिर्जनाको खानी छ । उनीहरूको सीप भावी पुस्ताका लागि प्रेरणाको श्रोत हो । उनीहरूप्रतिको सम्मानले नै संस्कारजन्य समाजको निर्माण हुन सक्छ ।

अर्कोतर्फ आजको पुस्ताले बृद्धहरूबाट परम्परागत सीपको संरक्षण र अनुसरण गर्नु आवश्यक छ । हाम्रा पूर्वज असंख्य ज्ञान र सीपका खानी हुन । तिनको ज्ञान र सीप हामी र हामी सन्ततीको जीवन अघि बढाउन महत्वपूर्ण छन । यो विषयमा आजको पुस्ताले ध्यान दिने कि ? नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या करिव १२ प्रतिशत अर्थात करिव २५ लाखको हाराहारीमा रहेको अनुमान छ । जेष्ठ नागरिकहरू घरमा सम्मानित भएर होइन, बृद्ध आश्रममा मृत्यु पर्खेर बस्न विवस हुनुपर्ने अवस्था कम गर्नेतर्फ ध्यान दिनु जरुरी छ । जेष्ठ नागरिकको जीवन कसरी सुरक्षित गर्ने भन्ने सवालमा सवैभन्दा बढी ध्यान सरकारको जानुपर्दछ ।

दिवस मनाउनु केवल औपचारिकता हो, उनीहरूप्रति सम्मान जबसम्म व्यवहारमा हुँदैन तबसम्म यो समस्या यस्तै रहन्छ । अतः सामाजिक प्रणाली सुधारमा हामी सवै जिम्मेवार बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?