© 2026
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले बलियो जनमत पाए पनि कमजोर शासन सञ्चालन गरिरहेको टिप्पणी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले बलियो जनादेश पाए पनि शासन सञ्चालनमा कमजोरी देखिएको बताएका हुन् ।
बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले सरकार गठन भएको ६ महिनाको अवधिमा नागरिकको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा शासकीय कौशलताको अभाव देखिएको बताए । बहुमत प्राप्त हुँदैमा शासन सञ्चालन गर्ने क्षमता नहुने उल्लेख गर्दै उनले सरकारले जनविश्वास आर्जन गर्न नसकेको र झिनामसिना विषयमा अल्झिरहेको आरोप लगाए ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा र फर्कँदा प्रधानमन्त्रीले संसद्लाई जानकारी नदिएको भन्दै उनले संसदीय परम्परा र मर्यादाको उल्लङ्घन भएको बताए । संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बोलिरहेका बेला प्रधानमन्त्री अनुपस्थित हुनु तथा संसद्लाई आफ्नो अनुकूलतामा चल्ने संस्थाका रूपमा व्यवहार गर्नु दुःखद भएको उनको भनाइ थियो ।
त्यस्तै, पछिल्लो समय नयाँ पुस्ताको नाममा उदाएका लोकप्रियतावादी नेतृत्वबाट लोकतन्त्रका आधारभूत स्तम्भमाथि प्रहार भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा पक्राउ गरी अकारण छाडिएको घटनालाई कानुनी राज्यको उपहासको उत्कर्ष भन्दै नेता आङदेम्बेले राज्यले यस्ता गैरजिम्मेवारपूर्ण गतिविधि गर्न नहुने बताए ।
उनले निजी क्षेत्रलाई साझेदारका रूपमा व्यवहार गर्न छाडेर सरकारले अपराधीजस्तो व्यवहार गरेको र कर्मचारीतन्त्रमा समेत राजनीतिक हस्तक्षेप बढेको आरोप लगाए । मुलुकको अर्थतन्त्रको अवस्था दयनीय रहेको तथा महँगीका कारण जनताको भान्सा प्रभावित हुँदा पनि सरकार संवेदनशील नदेखिएको उनको भनाइ थियो ।
विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको दाबी गर्दै उनले बाढी–पहिरोबाट प्रभावित नागरिक अझै बिचल्लीमा पर्दा राज्यको पर्याप्त उपस्थिति देखिन नसकेको बताए ।
प्रतिपक्षको काम सरकारको विरोध गर्नु मात्र नभई सरकारलाई सही मार्गमा ल्याउन खबरदारी गर्नु पनि भएको उल्लेख गर्दै नेता आङदेम्बेले सरकारले आफ्नो कार्यशैलीमा तत्काल सुधार नगरे मुलुक थप संकटतर्फ धकेलिने चेतावनी दिए ।
उनले सरकारलाई लोकप्रियतावाद र हुकुमी शैली त्यागेर सुशासन, सामाजिक न्याय र विकासलाई प्राथमिकतामा राखी काम गर्न सुझाव दिए ।