Butwal Today

दुई सामुदायिक वनमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

सल्यान । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई सामुदायिक वनमा लुकाई छिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी हवलदार चन्द्रमणि पोखरेलको कमान्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा बन्दुक बरामद गरेको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ९ः३० बजे बनगाड कुपिण्डे नगरपालिका, ७ स्थित सल्लेरी सामुदायिक वनको ओडारमा लुकाई छिपाइ राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक फेला परेको थियो । त्यसै गरी सोही नगरपालिकाको वडा नम्बर १२ निगालचुला स्थित भदाले सामुदायिक वनको ओडारमा लुकाइएको अवस्थामा थप चार नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर रोकायले जानकारी दिए ।

दुवै स्थानबाट बरामद भएका बन्दुक जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याएर राखिएको प्रहरीले जनाएको छ । बरामद गरिएका भरुवा बन्दुक कसले र के प्रयोजनका लागि सामुदायिक वनका ओडारमा लुकाएर राखेको थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दुक राखिएको दुवै स्थान जिल्ला सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयबाट करिब ३५ किलोमिटर पश्चिमतर्फ पर्छन् । घटनासम्बन्धी थप विवरण अनुसन्धान पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?