Butwal Today

मदन भण्डारी कप भलिबल : पुलिस क्लबको दोस्रो विजय

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

बुटवल । नेपाल पुलिस क्लबले बुटवलमा भइरहेको मदन भण्डारी कप आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बीआईसीसी सम्मेलन केन्द्रमा आज पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हरायो । पुलिसले २६–२४, २६–२४, २०–२५, २५–१९ को नतिजा निकाल्यो । समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिसको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।

अर्को खेलमा घरेलु टोली मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबमाथि २५–१९, २५–२०, २५–१६ को जित निकाल्यो । मणिमुकुन्द क्लबको यो पहिलो जित हो । श्रीलंकाको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा श्रीलंकन टोली पुलिस क्लबसँग पराजित भएको थियो । समूह ‘बी’ मा आज सभापोखरी भलिबल क्लबले भारतको गुजराज स्पोर्टिङ क्लबलाई २५–१८, २५–१३, २५–२१ को जित निकालेको थियो ।

प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ७५ हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई पनि पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालका चार गरी सात टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?