Butwal Today

मुस्ताङको बाढीपहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

मुस्ताङमा पछिल्लो समय गएको बाढी, पहिरो तथा नदी कटानका कारण भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौचनले अविरल वर्षापछि आएको बाढीपहिरोले स्थानीय पूर्वाधार र जनजीवनमा पारेको असरबारे सदनलाई जानकारी गराएका हुन् ।

उनका अनुसार मुस्ताङको लोमान्थाङ गाउँपालिका, घरपझोङ, थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न वडामा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ ।

लोमान्थाङ गाउँपालिकाका वडा नं. १, २ र ६ मा सिँचाइ प्रणाली तथा कृषि पूर्वाधारमा पूर्ण क्षति पुगेको उनले बताए । घरपझोङ र थासाङ गाउँपालिकाका विभिन्न बस्तीसमेत उच्च जोखिममा रहेको उनको भनाइ छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लुक्रा गाउँमा स्थानीय कृषकका घर तथा कृषि प्रणालीमा व्यापक क्षति पुगेको सांसद गौचनले जानकारी दिए ।

उनका अनुसार मुस्ताङको दानास्थित सबस्टेसनमा क्षति पुग्नुका साथै ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि करिब ७२ घण्टादेखि मुस्ताङ विद्युत्विहीन भएको छ । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा मुस्ताङ राज्यको सम्पर्कबाट अलग्गिन पुगेको र क्षतिको वास्तविक विवरण सङ्कलन गर्नसमेत कठिनाइ भइरहेको उनले बताए ।

उत्तर–दक्षिण लोकमार्गअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा ४६ स्थानमा क्षति पुगेको उल्लेख गर्दै सांसद गौचनले उक्त सडक स्थानीय आवतजावतका लागि मात्रै नभई चीनसँगको सीमा जोड्ने रणनीतिक पूर्वाधारसमेत भएको बताए ।

उनले सडकमा भएको क्षतिले यातायात, विद्युत्, सञ्चार तथा व्यापारमा समेत गम्भीर असर परेको बताए ।

सांसद गौचनले मुस्ताङमा भएको प्राकृतिक विपत्तिलाई ‘क्लाइमेट सेक्युरिटी’ र ‘नेसनल सेक्युरिटी’को दृष्टिकोणबाट समेत हेरी तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?