Butwal Today

बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ । सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको चलचित्रले मंगलबारदेखि भने हलमा दर्शकको चाप बढाएको हो ।

मंगलबारदेखि सुरु भएको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटको प्रभावसँगै चलचित्रका अधिकांश शोमा दर्शकको उपस्थिति बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ । मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको चलचित्रका थुप्रै शोहरू दिनभर नै हाउसफुल भएको वितरकको भनाइ छ । बुधबार आइपुग्दा चलचित्रको शो संख्या पनि बढाइएको छ । वितरकका अनुसार देशभर चलचित्रले १ सयभन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलहरूले थप शो थपिरहेका छन् । काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म चलचित्रप्रति दर्शकको चासो बढेको देखिएको छ ।

चलचित्रले दर्शकबाट पाइरहेको प्रतिक्रियामा भने भावनात्मक पक्ष प्रमुख देखिएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले ‘बाः एक योद्धा’ले आफूलाई भावुक बनाएको, रुवाएको तथा आफ्नै परिवार, आफन्त र छिमेकीले भोगेको जस्तो कथा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । विशेषगरी चलचित्रमा बाबुआमाले सन्तानका लागि गर्ने त्याग र संघर्षलाई प्रस्तुत गरिएको भन्दै दर्शकले प्रशंसा गरिरहेका छन् । कतिपय दर्शकले चलचित्र हेरेपछि आफ्ना बाबुआमालाई सम्झिएको र आफ्ना सन्तानलाई पनि यस्तो चलचित्र देखाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

सन्तानले आफ्ना अधिकारका विषयमा आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश चलचित्रले दिएको दर्शकको भनाइ छ । वृद्ध अवस्थामा पुगेका आमाबाबुले सन्तानबाट भोग्नुपर्ने पीडा र उनीहरूको जीवनभरको त्यागलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गरेको दर्शकको प्रतिक्रिया छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै विभिन्न हलमा दर्शकसँग साक्षात्कार गर्दै आएको चलचित्रको कलाकार टोलीले मंगलबार बढेको दर्शकको भीडले आगामी दिनप्रति आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन् । कलाकारहरूले हलमै पुगेर दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिइरहेका छन् ।

चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?