© 2026
काठमान्डौँ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेल (ललितपुर) ले आफू एउटा विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताएका छन् ।
खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न आग्रह गरेको र त्यसबारे प्रधानमन्त्रीको जवाफ पर्खिरहेको बताएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै खरेलले विपद्लाई दैवी प्रकोपका रूपमा परिभाषित गर्न नहुने बताए । उनले भने, ‘विपद् दैवी प्रकोप होइन । यो दैवले गराएको होइन । यो प्राकृतिक या मानव सिर्जित हुन्छ ।’
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न यसअघि पनि संसद्मा विषय उठाएको स्मरण गरे ।
‘यही सदनबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले आग्रह गरेको थिएँ,’ उनले भने, ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, प्रधानमन्त्री विपद् राहत कोष भनेर नामकरण गरियोस् भनेको थिएँ । त्यसको जवाफको पर्खाइमा म रहेको छु । म यो अनुरोध गर्न चाहन्छु ।’