© 2026
सल्यान । सरकारी सेवा लिन सल्यानको जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीले अब फाराम भर्नेदेखि कागजात फोटोकपी, स्क्यान र प्रिन्ट गर्न कार्यालयबाहिर धाउनुपर्ने छैन । जिल्ला प्रशासनले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा विभिन्न सिफारिसका लागि आवश्यक पर्ने यी सबै सेवा कार्यालय भित्रै निःशुल्क उपलब्ध गराउन थालेपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने भएको हो ।
सेवाग्राहीलाई आवश्यक पर्ने निवेदन तथा फाराम भर्ने, अनलाइन फाराम भर्ने, कागजात फोटोकपी तथा स्क्यान गर्ने, इमेल मार्फत आवश्यक कागजात पठाउने र प्रिन्ट गर्ने सेवासमेत निःशुल्क उपलब्ध गराएको हो ।विशेषगरी राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने अनलाइन फाराम भर्न तथा कागजात तयार गर्न सेवाग्राहीले यस अघि कार्यालय बाहिरका फोटो स्टुडियो तथा अन्य निजी सेवा केन्द्रमा पुगेर शुल्क तिर्नुपर्ने अवस्था थियो । अब यी काम प्रशासन कार्यालयबाटै निःशुल्क हुने भएपछि सेवाग्राहीले सेवा लिनकै लागि अतिरिक्त खर्च र समय छुट्याउनुपर्ने अवस्था हटेको छ ।
प्रमुख जिल्ला अधिकारी वन्धना कुमारी केसीले सेवाग्राहीको सहजता र सरकारी सेवा प्रवाहलाई सरल बनाउने उद्देश्यले प्रशासन कार्यालयमै आवश्यक सहयोग उपलब्ध गराइएको जानकारी दिइन । उनका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक पर्ने फाराम भर्ने तथा कागजात तयार गर्ने काममा कार्यालयले सहजीकरण गर्नेछ ।
कार्यालयले सेवाग्राहीलाई आवश्यक सहयोगका लागि नागरिक सहायता कक्ष वा सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । यस किसिमको व्यवस्थाले सरकारी सेवा लिन आउने नागरिकलाई सेवा शुल्क बाहेक फाराम, फोटोकपी, स्क्यान, प्रिन्ट तथा अनलाइन फाराम भर्ने नाममा कार्यालय बाहिर हुने अतिरिक्त खर्च घटाउने अपेक्षा गरिएको छ । साथै सेवाग्राहीलाई एउटै कार्यालय परिसरबाट आवश्यक प्रक्रिया पूरा गर्ने वातावरण बनेको छ ।