Butwal Today

कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको टिमले आज अनौपचारिक बैठक बसेर महाधिवेशनको नयाँ मिति तय गर्ने एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार महाधिवेशनको नयाँ मितिबारे छलफल भइरहेको छ । उनले भने, ‘महाधिवेशनको नयाँ मितिबारे हामी सल्लाह गर्दैछौँ । केन्द्रीय कार्यालयको टिम बसेर आज अन्तिम टुंगो लगाउँछौँ ।’

कांग्रेसले यसअघि १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । सोहीअनुसार विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्तोसमेत पठाइसकिएको छ ।

तर, असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो ।

दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गएकाले महाधिवेशन चाडपर्वअघि गर्ने कि पछि भन्ने विषयमा पनि छलफल भइरहेको कांग्रेस संस्थापन पक्षका नेताहरूले बताएका छन् ।

अर्का एक नेताका अनुसार महाधिवेशन धेरै दिन पछि सार्नेभन्दा पनि एक–दुई दिन सार्ने विषयमा अनौपचारिक छलफल भइरहेको छ ।

यसैबीच, संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?