© 2026
काठमान्डौँ ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएको विषयमा संसद्लाई जानकारी नदिएको प्रश्न सदनमै उठेको छ ।
नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसद्लाई जानकारी नदिएको विषय उठाएकी हुन् ।
‘प्रधानमन्त्रीज्यू नेपालको कार्यकारी प्रमुख मात्र होइन, यही प्रतिनिधिसभाबाट निर्वाचित पनि हुनुहुन्छ । त्यसैले उहाँको विदेश भ्रमण संसद्प्रति जवाफदेही हुनैपर्छ,’ उनले भनिन् ।
सरकारले प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत गरेको सार्वजनिक भएको उल्लेख गर्दै उनले विदेश भ्रमणअघि संसद्लाई भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताबारे जानकारी गराउनुपर्ने बताइन् ।
‘प्रधानमन्त्रीज्यूले विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य र एजेन्डा तथा राष्ट्रहितका प्राथमिकताबारे जानकारी गराउने र स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धि तथा भएका महत्वपूर्ण भेटवार्ताबारे संसद्लाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन् ।
प्रधानमन्त्रीले विदेश भ्रमणका विषयमा संसद्लाई जानकारी नगराउने हो भने सरकार संसद्प्रति जवाफदेही नभएको सन्देश जाने उनको भनाइ थियो ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किइसकेका छन् । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए ।
महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किएका हुन् ।
महासभामा प्रधानमन्त्री शाहले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोबाट भएको क्षति, पर्वतीय देशहरूले भोगिरहेका संकट तथा जलवायु न्यायका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
उनले विश्वका ठूला र शक्तिशाली देशहरूको ध्यान तथा स्रोत नागरिकको जीवन रक्षा र पर्यावरण संरक्षणभन्दा हतियार, सैन्य शक्ति र व्यापारिक होडबाजीमा बढी केन्द्रित भएको विषय पनि उठाएका थिए । उनले शान्ति र विश्व कल्याणको सन्देश दिएका थिए ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।
तर, उक्त भ्रमणबारे प्रधानमन्त्री शाहले हालसम्म संसद्लाई औपचारिक जानकारी गराएका छैनन् ।