© 2026
बाँके ।
बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१९ कञ्चनपुरस्थित चक्रे विकको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८३ असोज १२ गते प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चक्रे विकको घरकोठामा बस्दै आएका विभिन्न व्यक्तिमाथि निगरानी तथा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ ग्राम ४५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१९ का ४४ वर्षीय धनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, ३२ वर्षीय चक्रे विक र २० वर्षीय रविराम रोका मगर रहेका छन् । त्यस्तै बर्दिया गुलरिया नगरपालिका–१ का ४८ वर्षीय राजेन्द्र कुमाल र कैलाली घोडाघोडी नगरपालिका–३ का २४ वर्षीय महेश मल्ल पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।