© 2026
गुल्मी । चार दिनदेखि निरन्तर परेको वर्षासँगै कालीगण्डकी र बडीगाड नदीमा आएको भीषण बाढी तथा जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।
बाढी, पहिरो र डुबानका कारण ग्रामीण बस्ती, नदी तथा खोला तटीय क्षेत्र, बजार, सडक तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको छ भने सयौँ घरपरिवार उच्च जोखिममा परेका छन् । रुरुक्षेत्र गाउँपालिकाको रिडी र आसपासका क्षेत्रमा कालीगण्डकी नदीको बहाव उच्च भएपछि तटीय क्षेत्र डुबानमा परेको छ ।
स्थानीय सुन्दर कसजुका अनुसार कालीगण्डकी र बडीगाड खोलामा विसं २०६५ पछिकै ठूलो बाढी आएको हो । बाढीका कारण कालीगण्डकी करिडोरको करिब एक किलोमिटर सडक, खेलमैदान, शवदाह गृह, प्रतीक्षालय, कभर्ड हल, ग्यारेजलगायतका संरचना डुबानमा परेका छन् ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थलमा रहेको तिनमुखे पुलको सतहसम्मै बाढीको पानी पुगेको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ऋषिकेश मन्दिर परिसरसमेत डुबानमा परेपछि मन्दिर क्षेत्र जोखिममा परेको छ ।
रुद्रवेणी क्षेत्रमा पनि कालीगण्डकी नदीको बाढीको प्रभाव बढेको छ । रुद्रवेणीस्थित पक्की पुलमाथिबाटै बाढीको पानी पस्नुका साथै आसपासको बजारसमेत डुबानमा परेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै रुद्रवेणीस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
यस्तै, बडीगाड खोलामा आएको बाढीका कारण उर्लीखोला, चोरकाटे, भुवाचिदी र साहघाटलगायतका तटीय बजार क्षेत्र प्रभावित भएका छन् । नदी तथा खोला किनारमा रहेका बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन् भने स्थानीयवासी नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि त्रसित हुँदै निरन्तर निगरानी गरिरहेका छन् ।
बाढी, पहिरो तथा सडक भासिएका कारण जिल्लाका प्रमुख सडकसमेत अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर पाँच दिनदेखि अवरुद्ध छ । रिडी–वामीटक्सार सडक, मदन भण्डारी राजमार्गअन्तर्गतको रिडी–तम्घास सडक तथा सालझण्डी–ढोरपाटन सडकसमेत अवरुद्ध भएका छन् । ग्रामीण सडकसमेत पूर्ण रूपमा बन्द हुँदा जिल्लाका विभिन्न स्थानमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार भौगोलिक विकटता तथा सडक अवरुद्ध भएका कारण बाढीपहिरोबाट भएको क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ । विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन तथा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले निरन्तर वर्षा भइरहेकाले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन जिल्लावासीलाई आग्रह गर्दै आएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहमा गरी २४१ घर उच्च जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । प्रहरीका अनुसार कालीगण्डकी गाउँपालिकामा १५ घरपरिवार, सत्यवती गाउँपालिकामा ३० घर, रुरुक्षेत्र गाउँपालिकामा ४० घर, मुसिकोट नगरपालिकामा १२ घर र रेसुङ्गा नगरपालिकामा २५ घर उच्च जोखिममा रहेका छन् ।
त्यसैगरी गुल्मीदरबार गाउँपालिकामा पाँच घरपरिवार र चन्द्रकोट गाउँपालिकामा ७० घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । धुर्कोट गाउँपालिकामा १५ घर, इस्मा गाउँपालिकामा १२ घर तथा छत्रकोट गाउँपालिकामा सात घर जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताए । जोखिममा रहेका तथा विस्थापित परिवारको संख्या थपिन सक्ने भएकाले प्रहरीले घटनाको विवरण संकलन गरिरहेको उनले जानकारी दिए ।
बाढीपहिरोका कारण उच्च जोखिममा परेका तथा विस्थापित परिवारलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।
कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने मोटरेबल पुल बगाएको छ । कालीगण्डकी करिडोर सडकलाई जोड्ने उक्त पुल बाढीले बगाएपछि गुल्मी, स्याङ्जा हुँदै बागलुङ र पर्वतसम्म आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार ड्याम साइटमा कालीगण्डकी नदीको पानीको बहाव अत्यधिक बढेपछि आइतबार बिहान उक्त पुल बाढीले बगाएको हो । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह उच्च भएको छ ।
पानीको सतह बढेपछि मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका तीनवटै ढोकासमेत खोलिएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका लेखापाल विष्णुप्रसाद न्यौपानेले जानकारी दिएका छन् । नदीमा पानीको बहाव अत्यधिक बढेपछि शनिबारदेखि जलविद्युत् केन्द्रमा १४४ मेगावाट विद्युत् उत्पादनसमेत बन्द गरिएको उनले बताए ।
बाढी आएपछि पानीलाई पुरानै बहाव क्षेत्रमा पठाइएको न्यौपानेले बताए । जलविद्युत् आयोजना निर्माणका क्रममा बनाइएको उक्त मोटरेबल पुल ड्याम साइटबाट करिब ५० मिटर तल रहेको थियो । पुल बगाएको क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । जलविद्युत् केन्द्रको ड्याम भने हाल खतरामुक्त रहेको बताइएको छ ।
मिर्मी–हर्मिचौर जोड्ने उक्त पुल कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणका क्रममा विसं २०५५ मा निर्माण गरिएको थियो । परियोजनाका लागि निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुल आयोजना निर्माण सम्पन्न भएपछि स्थानीयवासीका लागि आवतजावत गर्न महत्वपूर्ण बनेको थियो ।
पुल बगाएपछि उक्त क्षेत्रको सडक सम्पर्कमा थप समस्या उत्पन्न भएको कालीगण्डकी गाउँपालिका–१ का वडाध्यक्ष लालुप्रसाद पाण्डेले बताए । उनका अनुसार पुलले स्थानीयवासीको दैनिक आवतजावत, विद्यार्थीको विद्यालय आवागमन, औषधी उपचार तथा बजारसम्म पुग्ने बाटो सहज बनाएको थियो ।
“हाम्रा विद्यार्थी पढ्न जाने र औषधि उपचार तथा बजार गर्न जाने ठाउँ त्यही हो । पुल बगाएपछि हामीलाई वारिपारि आवतजावत गर्न ठूलो समस्या पर्ने भयो,” उनले भने ।
कालीगण्डकी नदीमा पानीको बहाव निरन्तर बढेसँगै गुल्मीको रिडी क्षेत्रसमेत उच्च जोखिममा परेको छ । रिडीमा कालीगण्डकी नदी किनारमा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नदीको सतह बढ्दै गएपछि तटीय क्षेत्रमा रहेका बस्ती तथा सार्वजनिक संरचनाको जोखिमसमेत बढेको स्थानीय प्रशासनले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेकाले स्थानीय प्रशासन, प्रहरी, स्थानीय तह तथा अन्य सुरक्षा संयन्त्रले सम्भावित जोखिममा रहेका बस्तीको निगरानी बढाएका छन् ।
क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेकाले बाढीपहिरोबाट प्रभावित क्षेत्र र परिवारको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।