© 2026
काठमान्डौँ ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन प्रभावित भएको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खनालले नारायणी नदीको बहाव उच्च हुँदा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको तथा सिङ्गो सुस्ता गाउँ डुबानमा परेको जानकारी दिए। स्थानीय प्रशासनले २३५ घरधुरीका ११ सय नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटिसकेपछि पनि विस्थापितहरू घर फर्कने अवस्था नरहेको उनले बताए ।
खनालले नदी तटीय क्षेत्रमा बाढी र डुबानबाट भएको क्षतिको गम्भीर समीक्षा गरी सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने बताए । दीर्घकालीन समाधानका लागि विगतमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन ऊर्जा मन्त्रालयबाट तत्काल झिकाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
बाढीका कारण कालीगण्डकी करिडोरमा पुगेको क्षति तथा बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे र पक्की पुलमा भएको क्षतिले नागरिकको आवतजावत ठप्प भएको उनले बताए । साथै, बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोबाट भएको क्षतिप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारी र विस्तृत अध्ययन आवश्यक रहेको सांसद खनालले बताए ।