Butwal Today

हावाहुरीले सुन्तला र तरकारी खेतीमा ठूलो क्षति

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

सल्यान । सल्यानमा शनिबार आएको तीव्र गतिको हावाहुरीले फलफूल तथा तरकारी खेतीमा पनि ठूलो क्षति पु¥याएको छ ।

हावाहुरीका कारण जिल्लाका विभिन्न क्षेत्रमा लटरम्म फलेका सुन्तलाका दाना झरेका छन् भने तरकारी तथा अन्य फलफूल खेतीसमेत प्रभावित भएको छ ।

हावाहुरीबाट छत्रेश्वरी र त्रिवेणि गाउँपालिका, बनगाड कुपिण्डे र बागचौर नगरपालिकाका विभिन्न क्षेत्रमा सुन्तला खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् । लामो समयसम्म लगातार परेको वर्षापछि आएको तीव्र हावाहुरीले फल लागेका सुन्तलाका बोटहरू हल्लाउँदा अधिकांश दाना र पात झरेर खेतबारीमा छरिएका छन् ।

छत्रेश्वरी २ मा लाखौं मुल्यका सुन्तला हावाहुरीले सखाप पारेको स्थानीय बिजय कुमार घर्तीले जानकारी दिए । सुन्तला लगायतका फलफुल, मकै बाली सोत्तर पारेको किसानहरूको भनाइ छ ।

बनगाड कुपिण्डे नगरपालिका, १० माझकाँडा, त्रिवेणि गाउँपालिकाको फालाबाङ लगायत आसपासका क्षेत्रमा हावाहुरीले लटरम्म फलेका सुन्तला र टिमुरमा ठूलो क्षति पु¥याएको छ । फल दिने समयमा आएको हावाहुरीले सुन्तलाका दाना ठूलो मात्रामा झारेको छ भने रिठाका दाना पनि अधिकांश झारेको र किसानहरू चिन्तित बनेको स्थानीय यम बहादुर भण्डारीले जानकारी दिए ।

टिप्ने अवस्थामा तयार भएका टिमुरका बोटमा समेत हावाहुरीले क्षति पु¥याएको किसानहरूको भनाइ छ ।
किसानका अनुसार हावाहुरीले कतिपय सुन्तलाका बोटलाई नै निमोठेर नोक्सान पु¥याएको छ । वर्षभरि मेहनत गरेर हुर्काएका बोटमा फल लागेपछि राम्रो आम्दानीको अपेक्षा गरेका किसानको उत्पादन हावाहुरीले बोटबाटै झारिदिएपछि उनीहरू मर्कामा परेका छन् ।

कपुरकोट गाउँपालिका लगायतका क्षेत्रमा पनि हावाहुरीले तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको छ । तरकारी उत्पादनका लागि परिचित क्षेत्रमा खेतबारीमा लगाइएका विभिन्न तरकारी तथा फलफूलमा हावाहुरीको असर परेको किसानहरूले बताएका छन् । फलफुल, तरकारीका बोटहरू सबै सखाप पारेको कपुरकोट ३ निबासी हेमराज बिकले बताए ।
हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा समेत ठूलो संख्यामा रुख ढलेका छन् ।

विशेषगरी सल्लालगायतका रुखहरू ढलेर सडक, विद्युत् संरचना तथा आसपासका क्षेत्रमा जोखिम बढेको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनका अनुसार हावाहुरीले कपुरकोट गाउँपालिकाका केहि घर, गोठ र विद्यालयका छाना उडाउनुका साथै विभिन्न सामुदायिक वनमा हजारौंको संख्यामा सल्लाका रूखहरू ढालेको छ ।

लगातारको वर्षापछि आएको हावाहुरीले एकैपटक फलफूल, तरकारी र वन क्षेत्रमा क्षति पु¥याएपछि जिल्लाका किसानहरूमा चिन्ता बढेको छ । जिल्लाका अधिकांश सडक तथा मोटरबाटोमा अवरोध छ । क्षतिको यकिन विवरण भने सम्बन्धित स्थानीय तह तथा कृषि निकायबाट संकलन हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?