Butwal Today

जबराको पक्राउ–रिहाइमा दुलालको प्रश्न- ‘यो कस्तो कानुनी राज्य हो ?’

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइ प्रकरणले देशमा गैरकानुनी राज्यको अभ्यास भइरहेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

प्रमुख सचेतक दुलालले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गर्ने र १२ घण्टा नबित्दै रिहा गर्ने सरकारको कदमले लोकतन्त्रको उपहास गरेको बताए ।

‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने रु यो कस्तो कानुनी राज्य हो ? सरकारले कुन स्टन्ट देखाउन खोजेको हो ?’ उनले प्रश्न गरे ।

उनले सरकार कानुनी बाटोमा हिँडिरहेको हो कि अराजकतातर्फ उन्मुख भएको हो भन्ने प्रश्नसमेत गरे। ‘गिरफ्तार गर्ने र सुरक्षा थ्रेट छ भन्दै बहाना बनाउने कामले देशको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ,’ उनले भने । उनले सरकारलाई यस्तो ‘दादागिरी’ र ‘पागलपन’ बन्द गर्न चेतावनी दिए ।

प्राकृतिक विपद्का समयमा सरकारको उपस्थिति फितलो रहेको भन्दै दुलालले दुःख व्यक्त गरे। देशभर बाढीपहिरोबाट जनधनको क्षति भइरहेको उल्लेख गर्दै उनले विपद्मा परेका नागरिकलाई तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरे ।

‘विपद्‌मा परेका नागरिकलाई राहत दिनुको साटो सरकारको ध्यान अर्कैतिर मोडियो । राहत, उद्धार र अस्थायी व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने ।

राज्य संयन्त्रको दुरुपयोग गरेर राजनीतिक स्टन्ट देखाउनुको सट्टा कानुनी प्रक्रियामा स्पष्ट हुन सरकारलाई आग्रह गर्दै दुलालले सरकारको कार्यशैलीप्रति व्यंग्यसमेत गरे ।

‘मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ। के खाएपछि यस्तो मध्यरातमा जोस र दिउँसो होस हराउँछ, सरकारले यसको जवाफ दिनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?