Butwal Today

रोल्पा अस्पतालमा पाँच दिने निःशुल्क हाडजोर्नी तथा अर्थोपेडिक शिविर

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

रोल्पा। रोल्पा अस्पताल रेउघामा हाडजोर्नी, नशा तथा अर्थोपेडिकसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी पाँच दिने निःशुल्क अर्थोपेडिक ओ।पि।डि। तथा शल्यक्रिया शिविर सुरु भएको छ । जिल्लाका विभिन्न स्थानबाट हाडजोर्नी तथा नशासम्बन्धी समस्या लिएर उपचारका लागि आउने बिरामीलाई स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

रोल्पा नगरपालिका, रोल्पा अस्पताल रेउघा, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ वेस्टको संयुक्त आयोजनामा सञ्चालन भएको शिविर असोज १२ गतेदेखि १६ गतेसम्म चल्नेछ । शिविरमा हाडजोर्नी तथा नशासम्बन्धी विभिन्न समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकबाट परामर्श तथा आवश्यकताअनुसार शल्यक्रिया सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

शिविरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । रोल्पा अस्पताल सञ्चालन समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती, नगर उपप्रमुख गीता आचार्य, प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, सरोकारवाला तथा पत्रकारको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै आयोजक तथा सरोकारवाला प्रतिनिधिहरूले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्न यस्ता शिविर प्रभावकारी हुने बताएका थिए । जिल्लामा हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका धेरै नागरिक रहे पनि सबैले समयमै विशेषज्ञ चिकित्सकको सेवा लिन नसकिरहेको अवस्थामा शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन तथा टिम लिडर डा.सुजन मानसिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरिरहेको छ । टोलीमा डा। सुनिल बदगायी, डा। अनिश ज्ञवाली, डा. समीर कार्की, डा। विजेन्द्र डंगोल र डा। समित लोहियालगायतका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् । शिविरमा कल्पना पन्त, रेनिया श्रेष्ठ, लुना भट्टराई, विनिता थापा, आशा कठायत, बिना अर्याल, श्याम झयारयेती, रामहरि वडाल, कैलाश अधिकारी, विष्णु थापा र सन्तोष अधिकारीलगायत स्वास्थ्यकर्मी तथा सहयोगी जनशक्तिको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

शिविरमा जन्मजात रूपमा खुट्टाको पैताला फर्किएको समस्या भएका बालबालिका तथा अन्य उमेर समूहका बिरामीले सेवा लिन सक्नेछन् । त्यसैगरी हातखुट्टा बाङ्गोटिङ्गो भएका, पुरानो चोटपटकका कारण हातखुट्टामा विकृति आएका तथा भाँचिएर बाङ्गो अवस्थामा जोडिएका बिरामीलाई पनि विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । हातखुट्टामा गाँठागुँठी भएका तथा आगोले पोलेपछि हातखुट्टा वा शरीरका अन्य भागमा विकृति भएका बिरामीको समेत परीक्षण तथा उपचार गरिने आयोजकले जनाएको छ ।

यसैगरी विगतमा हाडजोर्नीसम्बन्धी समस्या भएर शल्यक्रिया गराएका तथा शरीरमा राखिएका पाता, किला वा अन्य सामग्री निकाल्नुपर्ने बिरामीलाई पनि शिविरमा परीक्षण गरिनेछ । चिकित्सकको परीक्षणपछि आवश्यक देखिएका बिरामीलाई शिविरकै क्रममा निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सामान्य समस्या भएका बिरामीलाई आवश्यक परामर्श, औषधि तथा थप उपचारका लागि चिकित्सकीय सुझावसमेत दिइनेछ । आयोजकका अनुसार शिविरमा रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका साथै आसपासका क्षेत्रबाट समेत बिरामीलाई सेवा लिन आउन सक्ने व्यवस्था गरिएको छ । आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि काठमाडौँ वा अन्य ठूला सहरमा जान कठिन हुने नागरिकलाई विशेष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । विशेषज्ञ चिकित्सकको सेवा जिल्लामै निःशुल्क रूपमा उपलब्ध भएपछि लामो समयदेखि हाडजोर्नी तथा नशासम्बन्धी समस्या झेलिरहेका बिरामीले उपचारको अवसर पाउने भएका छन् ।

हाडजोर्नीसम्बन्धी कतिपय समस्या लामो समयसम्म उपचार नगर्दा जटिल बन्दै जाने भएकाले समयमै विशेषज्ञ चिकित्सकबाट परीक्षण गराउन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । पुरानो चोटपटक, जन्मजात समस्या, हातखुट्टाको विकृति तथा अन्य अर्थोपेडिक समस्याका कारण दैनिक कामकाजमा कठिनाइ भोगिरहेका नागरिकले शिविरमा स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । रोल्पा अस्पतालमा सञ्चालन भएको शिविरले जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने अवस्थाका कारण आर्थिक तथा समयको भार खेप्दै आएका बिरामीलाई स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको पहुँच उपलब्ध गराउने भएकाले शिविरलाई स्थानीयस्तरमा महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमका रूपमा हेरिएको छ ।

आयोजक संस्थाहरूले शिविर अवधिभर हाडजोर्नी, नशा तथा अर्थोपेडिकसम्बन्धी समस्या भएका नागरिकलाई रोल्पा अस्पताल रेउगामा सम्पर्क गरी सेवा लिन आग्रह गरेका छन् । विशेषगरी जन्मजात हातखुट्टाको विकृति, पुरानो चोटका कारण हातखुट्टा बाङ्गिएको, भाँचिएर गलत अवस्थामा जोडिएको, हातखुट्टामा गाँठागुँठी भएको तथा पहिलेको शल्यक्रियापछि पाता वा किला निकाल्नुपर्ने अवस्था भएका बिरामीलाई शिविरमा सहभागी हुन आग्रह गरिएको छ । शिविर असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएकाले तोकिएको अवधिभित्र अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श लिन सकिने आयोजकले जनाएको छ । आवश्यकता पहिचान भएका बिरामीलाई चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया सेवा पनि उपलब्ध गराइनेछ ।

रोल्पामा यस प्रकारको विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदा जिल्लाका ग्रामीण तथा दूरदराजका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने आयोजकको विश्वास छ । स्थानीय तह, अस्पताल, विशेषज्ञ स्वास्थ्य संस्था र सामाजिक संस्थाबीचको सहकार्यबाट सञ्चालन गरिएको शिविरले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?