Butwal Today

सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-
ललितपुर । 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको आफ्नो ४४औँ वार्षिकोत्सव एवं कर्मचारी पुनःमिलन कार्यक्रममा उपाध्यक्ष डा भट्टले प्रतिष्ठान महत्त्वपूर्ण प्रज्ञिक थलोका रुपमा रहेको भन्दै आजभन्दा ४४ वर्ष अगाडि दूरदर्शी सोचका साथ प्रतिष्ठानको स्थापना गरिएको बताए ।
“अनुसन्धान, विकास र नवप्रवर्तनमा हुने लगानी आर्थिक वृद्धि र समृद्धिको प्रमुख आधार हो, विश्व अर्थतन्त्रमा नेतृत्व गरिरहेका मुलुकहरूको सफलतामा अनुसन्धान तथा नवप्रवर्तनमा गरिएको लगानीको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले प्रशिक्षण तथा अध्ययन गराउने संस्थाले कस्तो ज्ञान र सोच भएका प्रशासक तयार गर्छ भन्ने विषय प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाहसँग जोडिन्छ”, उपाध्यक्ष डा भट्टले भने ।
अनुसन्धान र नवप्रवर्तनले नै विश्व अगाडि बढिरहेको उल्लेख गर्दै उनले प्रशासकलाई दिइने शिक्षा र दृष्टिकोणले नागरिकप्रतिको व्यवहार तथा सरकारी नीतिमा प्रभाव पार्ने बताए । इतिहासमा माल्थस र रिचर्ड जोन्सबाट प्रशिक्षित प्रशासकहरूको फरक दृष्टिकोणले भारतमा भोकमरी, खडेरी र नागरिकप्रतिको सरकारी व्यवहारमा फरक प्रभाव पारेको उदाहरण प्रस्तुत गर्दै उपाध्यक्ष डा भट्टले प्रशिक्षणमा नागरिकप्रतिको संवेदनशीलता आवश्यक रहेको उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा भोला थापाले सार्वजनिक सेवामा चुस्तता ल्याउने सन्दर्भमा विश्वविद्यालयसँग प्रतिष्ठानलाई जोडेर कार्यक्षमता अभिवृद्धि गर्ने काममा जोड दिएर लाग्ने बताए ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको व्यवस्थापन र सफलतामा प्राध्यापक तथा कर्मचारीको भूमिका सकारात्मक छ भन्दै आइएसओ प्रमाण–पत्र प्राप्त गर्न सफल भएकोमा आभार व्यक्त गरे । उनले प्रतिष्ठान नेतृत्व विकास र व्यवस्थापनमा उत्कृष्टताको केन्द्र हुन सकोस् भन्दै दक्ष जनशक्ति उत्पादनमा सक्षम बनाउनका लागि मन्त्रालयले सक्दो सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा पूर्वकार्यकारी निर्देशक डा  राजन खनालसहित विभिन्न कर्मचारीहरुलाई सम्मान र प्रतिष्ठानले अध्ययन, अनुन्धानमा आधारित भएर प्रकाशन गरेको पुस्तक विमोचनसमेत गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?