© 2026
बुटवल । नारायणी नदीमा पानीको सतह बढेसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का बस्ती डुबानमा पर्न थालेका छन् । तर, सुस्ताका बासिन्दाका लागि यो वर्षको मात्रै समस्या होइन । नदी नियन्त्रणका लागि निर्माण भइरहेको तटबन्ध पूरा नहुँदा हरेक वर्ष बाढीको जोखिम सामना गर्नुपर्ने बाध्यता छ ।
लगातारको वर्षापछि नारायणी नदीको जलसतह बढ्दा शुक्रबारदेखि थारू टोलबाट बाढी बस्तीमा पस्न थालेको हो । बाढीले थारू टोलसँगै सैनिक टोल, बड्की टोल, क्याम्प टोललगायतका बस्ती प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्तामा करिब २५० घर डुबानमा परेका छन् । जोखिममा रहेका परिवारलाई सुरक्षाकर्मीले उद्धार गरी अग्लो स्थानमा रहेका छिमेकीका घर तथा सामुदायिक विपद् व्यवस्थापन समितिले निर्माण गरेको सामुदायिक भवनमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीका अनुसार थारू टोलका ७८ घरपरिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा सारिएको थियो । राति सैनिक टोल र बड्की टोलमा समेत बाढी पसेपछि थप परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
स्थानीयका अनुसार नारायणी नदीले धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि नदीमा पानीको बहाव बढ्नासाथ बस्तीमा बाढी पस्ने गरेको छ । वडा सदस्य आदम खानका अनुसार नदीमा एक लाख क्युसेक पानीको बहाव पुग्दा सुस्तामा बाढी पस्ने गरेको छ । अहिले पनि नदीको जलसतह बढिरहेको भन्दै उनले सुस्ताका सबै बस्ती जोखिममा रहेको बताए ।
नदी नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध पूरा नहुँदा समस्या झन् बढेको स्थानीयको भनाइ छ । सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर क्षेत्र निर्माण हुन बाँकी रहेको र त्यही भागबाट नारायणी नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बताउँछन् । भारतीय पक्षले तटबन्ध निर्माणमा अवरोध गरेपछि उक्त भागको काम पूरा हुन नसकेको उनीहरूको भनाइ छ । तटबन्ध नहुँदा नदी कटानको जोखिममा रहेका बस्तीका साथै सुस्ताको उखु खेतीमा समेत बाढीले क्षति पु¥याएको छ । नदीको पानी बढ्दै गएमा डुबानको क्षेत्र अझ विस्तार हुन सक्ने स्थानीयको चिन्ता छ ।
सुस्ता वर्षौंदेखि बाढी र डुबानको चपेटामा पर्दै आएको क्षेत्र हो । स्थानीयले नदी नियन्त्रणका लागि भरपर्दो तटबन्ध निर्माण गर्न पटक–पटक माग गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन । तत्कालका लागि बोरामा माटो र बालुवा भरेर बनाइएको कच्ची तटबन्धले नदीको बहाव रोक्ने प्रयास गरिए पनि त्यो टिकाउ नभएको स्थानीय बताउँछन् ।
तटबन्धको केही भाग अझै निर्माण हुन बाँकी रहँदा नदी कटान बढ्दै गएको र बस्ती नै जोखिममा परेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार हरेक वर्ष बाढी आएपछि उद्धार र अस्थायी व्यवस्थापनमा राज्यको ध्यान जाने गरे पनि दीर्घकालीन रूपमा नदी नियन्त्रणको काम भने अघि बढ्न सकेको छैन ।