Butwal Today

तीन दिनदेखि सल्यान अन्धकार

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

सल्यान । सल्यानमा लगातारको वर्षा र हावाहुरीका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

जिल्लाभर विद्युत् आपूर्ति ठप्प भएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ भने नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहानैदेखि दुईतर्फबाट मर्मत टोली परिचालन गरेर आजै विद्युत् फर्काउने प्रयास थालेको छ ।

मौसममा केही सुधार देखिएसँगै सल्यान वितरण केन्द्रले कपुरकोट र खारखोला दुवैतर्फबाट मर्मत टोली परिचालन गरेको हो । कपुरकोट तर्फबाट गएको टोली अरिङ्गालेफेदीतर्फ झर्दै क्षतिग्रस्त संरचना मर्मतमा खटिएको छ भने अर्को टोली खारखोलाबाट अगाडि बढेर मर्मतमा लागेको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार मौसमले साथ दिएमा आइतबार बेलुकासम्म विद्युत् आपूर्ति सुचारु गर्ने उच्चतम प्रयास भइरहेको छ । शनिबार पनि दिनभर मर्मतको काम गरिए पनि धेरै ठाउँमा क्षती पुगेको, हावाहुरी र क्षतिग्रस्त संरचनाका कारण लाइन सञ्चालनमा ल्याउन सकिएको थिएन ।

लगातारको वर्षा र हावाहुरीका क्रममा विभिन्न स्थानमा रुख ढलेपछि ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । शुक्रबार रातिदेखि विद्युत् आपूर्ति अवरुद्ध भएपछि जिल्लाका अधिकांश क्षेत्र तीन दिनदेखि अन्धकारमा छन् । संचार सम्पर्क पनि बिच्छेद हुन थालेको छ ।

विशेषगरी ३३ केभी प्रसारण लाइन अन्तर्गत लुहाम देखी अरिङ्गालेफेदी, खारखोला क्षेत्रमा रुख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । यही क्षेत्रमा सडक चौडा तथा स्तरोन्नतिको कामसमेत भइरहेकाले विद्युत् मर्मत थप जटिल बनेको छ ।

स्थानीयका अनुसार सडक विस्तारका क्रममा डोजर प्रयोग गरी आसपासको भूभाग काट्दा कतिपय रुखका जरा कमजोर भएका थिए । जोखिमयुक्त अवस्थामा रहेका त्यस्ता रुख लगातारको वर्षा र हावाहुरीपछि ढलेका हुन् । सडक निर्माणका क्रममा विद्युत् संरचना र आसपासका जोखिमयुक्त रुख व्यवस्थापनमा पर्याप्त सावधानी नअपनाइएको भन्दै स्थानीय स्तरमा प्रश्नसमेत उठेको छ ।

सडक निर्माण र विद्युत् प्रसारण लाइन एउटै क्षेत्रमा प्रभावित भएपछि क्षतिग्रस्त संरचनासम्म पुग्न र मर्मत गर्न प्राधिकरणको टोलीलाई थप कठिनाइ भएको छ । मौसममा केही सुधार आएपछि मर्मत टोलीले क्षतिग्रस्त क्षेत्रमा पुगेर लाइन तथा संरचना मर्मतको काम तीव्र पारेको छ ।

तीन दिनदेखि विद्युत् नहुँदा घरायसी कामदेखि व्यापार, व्यवसाय, सञ्चार तथा विभिन्न सेवा समेत प्रभावित भएका छन् । लामो समय विद्युत् आपूर्ति बन्द भएपछि जिल्लावासी तत्काल विद्युत् सेवाको प्रतीक्षामा छन् ।

प्राधिकरणले आइतबार बेलुकासम्म लाइन सञ्चालनमा ल्याउने लक्ष्यसहित काम गरिरहेको जनाएको छ। तर फेरि वर्षा वा हावाहुरी आएमा मर्मत कार्य प्रभावित हुनसक्ने भएकाले विद्युत् आपूर्ति सुचारु हुने समय मौसमको अवस्थामा समेत निर्भर रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?