© 2026
नवलपरासी, बर्दघाट (सुस्ता पश्चिम) ।
अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका(५ मा शुक्रबारदेखि बाढी पसेको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो ।
नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरमा रहेको बिपी माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए । उनले भने, “सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिलै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो ।”
“सुस्तावारि आउनका लागि नारायणी नदीमा झोलुङ्गे रहेकामा पुलमा जलसतह बढेपछि केही माथि उकालेर विद्यालयमा पुर्याउन ढिलाइ भएको हो”, प्रजिअ नेपालले भने । उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर सो क्षेत्रमा पुगेको उनले बताए ।
अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताए ।