Butwal Today

‘द एभरेस्ट ड्रिम’ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौं । नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रिम’ले भारतको सिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ सिम्लामा स्पेसल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ।

निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको फिल्मले विश्वभरका वृत्तचित्रसँग प्रतिस्पर्धा गर्दै अवार्ड जितेको हो। सेप्टेम्बर २५ देखि २७ सम्म सिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा आयोजित महोत्सवमा ३३ देशका फिल्म सहभागी थिए। फिल्मले मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा विभिन्न चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्राको कथा प्रस्तुत गरेको छ। जेम्स लेम्बको नेतृत्वमा पाँच ब्रेन इन्जुरी सर्भाइभर्ससहित सात सदस्यीय टोलीले गरेको यात्रालाई फिल्मले केन्द्रमा राखेको छ।

निर्देशक पाण्डेका अनुसार, गम्भीर चोट वा कठिनाइ आए पनि मानिसले नयाँ सपना देख्न र त्यसलाई पूरा गर्न सक्छ भन्ने सन्देश फिल्मले दिएको छ। ‘द एभरेस्ट ड्रिम’ले यसअघि अमेरिकाको जर्जियास्थित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसमेत जितिसकेको छ। सिम्लामा प्राप्त पछिल्लो अवार्डले नेपाली डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय उपस्थिति थप बलियो बनाएको छ।

के हो ‘द एभरेस्ट ड्रिम’?

‘द एभरेस्ट ड्रिम’ले मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा विभिन्न चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्राको कथा प्रस्तुत गर्छ। फिल्ममा स्कटल्यान्डबाट सुरु भएको उनीहरूको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रासम्मका अनुभव समेटिएका छन्। शारीरिक तथा मानसिक चुनौतीका बाबजुद आफ्नो सपना पूरा गर्ने उनीहरूको प्रयासलाई डकुमेन्ट्रीको मुख्य विषय बनाइएको छ। जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्भाइभर्ससहित सात सदस्यीय टोलीले एभरेस्ट बेस क्याम्पसम्म गरेको यात्रालाई फिल्मले केन्द्रमा राखेको छ। उनीहरूले मस्तिष्कमा गम्भीर चोटपछिको जीवनमा आएका कठिनाइसँग जुध्दै हिमालयको चुनौतीपूर्ण यात्रा पूरा गर्ने प्रयास गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?