Butwal Today

लगातारको वर्षापछि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी ।  लगातारको वर्षापछि पहिरो खस्दा गुल्मीका मुख्य तीन सडक अवरुद्ध भएका छन् । जिल्लाको रिडी–तम्घास सडक, रुद्रवेणी–वामीटक्सार सडक र कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।

रिडी‐तम्घास सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ श्यालबिसौनामा सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्ड आज गए रातीदेखि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरो खसेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर बिकको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो ग्रस्त क्षेत्रमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

पहिरो खसेपछि सदरमुकाम तम्घासबाट पाल्पा हुँदै बुटवलतर्फ आवतजावत गर्ने सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । सडक सञ्चालनका लागि स्थानीय रुरुक्षेत्र गाउँपालिकाको पहलमा सडक निर्माण कम्पनी समानान्तर जेभीको डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका–७ च्युरेनी भीरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार अपरान्हदेखि अवरुद्ध सडक सुचारु गर्नका लागि प्रहरी चौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक उदयभान यादवको नेतृत्वमा बेलुकी अबेरसम्म प्रहरी टोली परिचालन गरिएको थियो । तर सडक माथिबाट निरन्तर पहिरो खसिरहेको कारण सडक सञ्चालन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै शुक्रबार बिहानदेखि अवरुद्ध कालीगण्डकी करिडोरसमेत अझै सञ्चालनमा आउन सकेको छैन । कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्ड शुक्रबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले

दिनभर सडक सञ्चालनको प्रयास गरे पनि लगातारको वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
जिल्लाका मुख्य तीन सडक अवरुद्ध भएपछि बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन् ।

चार दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका स्थानीयवासी प्रभावित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?