Butwal Today

कालीगण्डकीमा पानीको बहाव बढेपछि स्थानीय त्रसित

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी । 

लगातारको वर्षासँगै आएको बाढीका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव उच्च बढेको छ । पानीको बहाव  बढेपछि रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजार स्थित तटीय क्षेत्रका बासिन्दाहरू उच्च जोखिममा परेका छन् ।

कालीगण्डकी नदीले कटान र डुबानको जोखिम बढाएपछि नदी तटीय स्थानमा पसल गरी बस्दै आएका सात घरधुरी परिवारलाई स्थानीय र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणको काममा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

शनिवार बिहान १० बजेको समयमा नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारका नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढ्दै गएपछि रिडीवासीहरूमा यति बेला थप त्रास बढेको छ ।

वर्षाका कारण गुल्मीका तीन मुख्य सडक र दर्जनौँ ग्रामीण सडकहरू पूर्ण रूपमा अवरुद्ध बनेका छन् । लगातारको वर्षाले पहिरो खस्दा एक दर्जन भन्दा बढी घरपरिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?