Butwal Today

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् ।

सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । “विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन् । हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मुल्याङ्कन गरीरहेका छौँ । अहिलेको अवस्था हेर्दा आतङ्कित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ । खतरा हुने वित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौँ”, सहायक प्रजिअ बरालले भने ।

बजारको मध्य भाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित छन् । यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडकहरू भने अवरुद्ध भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ । मोदीले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्क विच्छेद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?