© 2026
लमही। बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण देउखुरी क्षेत्रका नदी तथा खोलामा पानीको सतह बढेको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभए पनि केही नदीमा पानीको सतह खतराको तह नजिक पुगेको स्थानीय प्रशासनले जनाएको छ। लुम्बिनी प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय दाङले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
लमही नगरपालिका–९ तेलियामा रहेको तेलगंगा खोलाको मुहान थुनिएपछि स्थानीयवासीमा त्रास बढेको छ। खोलाको बहाव रोकिँदा जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीले पानीको निकास खुलाउने प्रयास गरिरहेका छन्। स्थानीय प्रशासनले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानमा नबस्न तथा वर्षाका कारण उत्पन्न हुनसक्ने विपद्का घटनाबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङको देउखुरी क्षेत्रका चार स्थानीय तहले विद्यालय दुई दिनका लागि बन्द भएका छन भने प्रशासनले हाइअलाउट जारी गरिएको छ। राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकाले असोज विद्यालय बन्द गर्न सम्बन्धित विद्यालयलाई गरेका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंले दाङसहित देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेपछि स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। मन्त्रालयको २०८३ असोज ७ गतेको सार्वजनिक सूचना तथा आह्वानअनुसार विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय तहहरूले जनाएका छन्।
सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै वर्षा सुरु हुनुअघि नै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विद्यालय बन्द गरिएको स्थानीय तहहरूको भनाइ छ। दुई दिन विद्यालय बन्द भएपछि शनिबार र आइतबारसमेत सार्वजनिक बिदा पर्ने भएकाले देउखुरीका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्। विद्यालयहरू असोज १२ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।